About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ९ साउन
राष्ट्रिय भूमि आयोग जिल्ला समिति मोरङले उर्लाबारीका सरोकारवालाहरुसँग अन्तरक्रिया गरेको छ । नगरभित्र रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई लालपुर्जा वितरण गर्ने विभिन्न प्रक्रियाका बारेमा जानकारी दिने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।
भूमि आयोग जिल्ला समिति मोरङका अध्यक्ष सुशीला घिमिरेले भूमिहीन सुकुम्बासीहरुलाई जग्गा उपलब्ध गराउने, अव्यवस्थित बसोबासीहरुलाई व्यवस्थित गराउने र भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई कृषिजन्य जमिन उपलब्ध गराउने गरी आयोगले जिल्लामा काम गरिरहेको बताइन् । उनले अन्य जिल्लाका स्थानीय तहले समयमै विवरण बुझाएकाले लालपुर्जा वितरणको काम थालिसकेको भन्दै मोरङका स्थानीय तहले समयमै अनुसुची अनुसारको विवरण पठाउन नसक्दा लालपुर्जा वितरणको काममा ढिलाइ भएको बताइन् । घिमिरेले स्थानीय तहले र वडाले गर्नुपर्ने काम जति सक्दो छिटो गर्न अनुरोध गरिन् ।
कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख गंगाप्रसाद खरेलले सुकुम्बासीलाई जग्गाको मालिक बनाउने र मुलुकबाटै सधैँका लागि भूमिहीन अन्त्य गर्नुपर्नेमा जोड दिए ।
‘कतिपय नागरिकको आफूले टेकेको भूमि आफ्नो भन्ने अवस्था छैन,’ नगर प्रमुख खरेलले भने ‘दिनु पर्ने कसैलाई छुटाइनु हुँदैन ।’ सबैलाई जमिन व्यवस्था गरेर आयोगलाई लालपुर्जा राजनीति आयोग होइन भन्ने पुष्टि गराउन उनले आग्रह गरे । उनले पार्टी पक्षधरताभन्दा माथि उठेर भूमि आयोगमार्फत लालपुर्जा वितरण हुनुपर्ने खाँचो औंल्याए ।
यस्तै, नगर उपप्रमुख मीना खतिवडा पौडेलले भूमिहीनको समस्यालाई सदाका लागि अन्त्य गरी समृद्ध नगर निर्माणमा आफूहरु लागि परेको बताइन् । नगरका प्रवक्ता समेत रहेका वडा नं.३ का वडाअध्यक्ष भीष्मराज बुढाथोकीले आफूहरु निर्वाचित भएर आएदेखि नै पहिलो प्रथमिकतामा राखेर भूमिहीनलाई धनीपुर्जा उपलब्ध गराउने काममा लागेको बताए ।
राष्ट्रिय भूमि आयोग उर्लाबारी सेवा केन्द्रको तथ्यांक अनुसार उर्लाबारी नगरपालिकामा रहेका ९ वटै वडाबाट भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको लगत संकलनको कार्य पूर्ण रुपमा सकिएको छ । नगरपालिकाका प्रशासन योजना तथा अनुगमन शाखा अधिकृत मुरारी घिमिरेका अनुसार संकलित विवरणलाई कम्प्युटर सफ्टवेयर प्रणालीमा प्रविष्ट गर्ने कार्य अन्तिम चरणमा रहेको छ । यस्तै, नापजाँचसँग सम्बन्धित कार्यको लागि फिल्ड सर्भेक्षण लगायतका कार्यहरु सम्पन्न भई आवश्यक नापजाँचको तयारी भइरहेको घिमिरेले जनाए । आयोगको कामलाई पूर्णता दिन तीन महिने कार्ययोजना बनाई वडा र नगरस्तरका सहजीकरण समितिले छलफल गर्नेपनि उनको भनाई छ । नगरमा प्रविष्ट भएका भूमिहीन दलित र भूमिहीन सुकुम्बासी एक हजार ७९ घर परिवार छन् भने अव्यवस्थित बसोबासीको संख्या तीन हजार आठ सय ८८ रहेको जनाइएको छ ।
अन्तरक्रियामा एमाले उर्लाबारीका अध्यक्ष गंगाप्रसाद बास्तोला, माओवादी केन्द्रका नगर अध्यक्ष गजेन्द्र दंगाल, काँग्रेस उर्लाबारीका सचिव राजन रायमाझी, जसपा नगर अध्यक्ष मात्रिका धिमाल, नगरपालिकाका ९ वटै वडाका जनप्रतिनिधि लगायतले आ–आफ्ना धारणा राखेका थिए ।
०००००००००

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय