
झापा, ८ साउन एउटै गाँउका तीन जना किशोरी झुण्डिएको अवस्थामा मृत फेला परेपछि झापाको कचनकवल गाँउपालिका शोकमा ढुवेको छ । गाँउपालिकाका उपाध्यक्ष नवराज भट्टराईले पालिकानै स्तब्ध बनेको बताए । स्थलगत मुचुल्का तयार पारेर शवलाई पोष्टमार्टमका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान ल्याइएको छ । झापाको कचनकवल गाउँपालिका वडा नम्वर ५ मा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् । सो ठाँउ भारतको विहार किसनगंज जिल्ला सँग सिमाजोडिएको सुनकोशी चियावगान छेउ भीमखोलाको डिलमा पर्छ । खोलाका डिलमा उम्रिएको एउटै बयरको रुखमा तीनैजना झुण्डिएको अवस्थामा फेला परेका हुन् । कचनकवल गाँउपालिकाका उपाध्यक्ष नवराज भट्टराईका अनुसार कचनकवल– ५ निवासी पंचम गणेशकी १६ वर्षीय छोरी करिना, पुवालु गणेशकी १७ वर्षीय छोरी अञ्जली र बिरबल गणेशकी १६ वर्षीय छोरी कल्पना मृत फेला परेका हुन् । पंचम गणेशले गाँउपालिका उपाध्यक्ष भट्टराईलाई बताएअनुसार उनीहरु हिजो दिउसो १२ बजेतिर खानाखाएर निस्किएका थिए । बिहान साढे ७ बजे सामूहिक झुन्डिएको अवस्थामा चियावगानका मजदुरले देखेपछि प्रहरीलाई तत्काल खबर गरेका थिए । उनीहरु तीनै जना चिया बगानमा काम गर्ने मजदुर हुन् । दुईजना एउटै हाँगामा र एकजना अर्को हाँगामा झुण्डिएकाे भेटिएका थिए ।एकजनाको खुट्टा पानीमा चोविएको अवस्थामा भेटिएको उपाध्यक्ष भट्टराईले जानकारी दिए। उनका अनुसार भारतीय सिमावर्ती सो ठाउँ निक्कै विकट मानिन्छ । त्यहाँ हत्तपत्त मान्छेहरु पुग्दैनन् । घटना के कारणले भएको हो अहिले सम्म पत्तो लागेको छैन ।