
उर्लाबारी, ५ साउन मोरङको उर्लाबारी नगरपालिका ४ सृजना टोलमा बाबुकाे किरियामा छोरीहरु बसेका छन् ।
५६ वर्षीय सोमनाथ खतिवडाको निधनपछि उनका तीन छोरी मध्ये दुई जना दश गात्र कर्ममा बसेका हुन् । खतिवडाको १२ दिनअघि उपचारका क्रममा विराटनगरमा मृत्यु भएको थियो । उनको ह्दयघातका कारण निधन भएको हो ।
खतिवडाका तीन छोरी मध्ये जेठी एलिजा र कान्छी कोपिला खतिवडा अहिले खतिवडा निवासमा बाबुको काजकिरियामा बसेका छन् । माइली छोरी कविता भने अध्ययनको सिलसिलामा अस्ट्रेलिया भएका कारण किरियामा समावेश हुन सकिनन् ।
बाबु आमाको निधन पछि छोराले मात्रै दशगात्र किरिया गर्ने सामाजिक परम्परालाई परिवर्तन गर्न सन्देश दिदैं खतिवडाका छोरा नभएका कारण कान्छी छोरी कोपिला क्रिया गर्ने मुख्य भुमिकामा छोरा सरह कोरा बसेकी हुन् । उनीसंगै जेठी दिदी एलिजा र मृतकका दुई श्रीमती समेत उनको आशौच बारिरहेका छन् ।
पण्डीत इन्द्रप्रसाद अधिकारी आफना बाबु आमाको दशगात्र कर्म गर्न हिन्दु शास्त्रले कहिं कतै रोक नलगाएको बताउँछन् । पण्डीत अधिकारीले भने “छोराले मात्रै गर्नुपर्छ छोरीले गर्नु हुदैन भन्ने कहिं कतै उल्लेख छैन । गरुड पुराणको ७ औं अध्याय र ११ औं अध्यायमा समेत छोरीलाई बाबु आमाको दशगात्र कर्म गर्ने बाटो खुल्ला छ ।”