
उर्लाबारी, ३ साउन
धिमालहरुको पुरानो बसोबास रहेको मोरङको उर्लाबारी नगरपालिकाले आफ्नो नगरको पहिलो जाति ‘धिमाल’ भएको घोषणा गरेपछि उनीहरुमा खुसीको लहर छाएको छ । उर्लाबारी नगरपालिकाको सातौं नगर सभाबाट धिमाललाई पहिलो जाति घोषणा गर्ने निर्णय गरेको हो ।
यो निर्णयसँगै धिमाल जातिमा खुसीयाली छाएको छ । ‘हाम्रो पुर्खाको पसिनाको सम्मान भएको छ । अनि सिङ्गो धिमाल जातिको कदर भएको छ । यसमा हामी ज्यादै खुसी छौं’ धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालले भने । पहिलो जाति घोषणाको निर्णय भएपछि उर्लाबारीका धिमालहरुले उर्लाबारी चौकमा दिपावली गरेका छन् । अब नगरमा धिमाल जातिको उत्थानका लागि नगरपालिकाले विशेष कार्यक्रमहरु ल्याउनु पर्ने धिमाल जातिका नागरिकको माग छ ।
ब्रिटिश लेखक डाक्टर हड्सनको निबन्धमा वि.सं.१८४७ मा कोशी पूर्व र टिष्टा पश्चिम विराट क्षेत्र भनिने बसोबासस्थलको पहाडी क्षेत्र दक्षिणको बीचभागमा धिमाल जाति हौं भन्ने ५ सय १ जना मानिस फेला परेको उल्लेख छ । सो इतिहाससहितका ११ ओटा प्रमाणले मोरङ, झापा र सुनसरीमा सबैभन्दा पहिलो पाइला टेक्ने धिमाल जाति नै भएको तथ्य प्रस्तुत गर्दै प्रदेश सरकारसँग सो कुरा सम्बोधनका लागि माग समेत गरियो ।
प्रकृतिपूजक धिमालको आफ्नै भाषा छ । लिपी पनि भर्खरै बनेको छ । सार्वजनिक थलोका रुपमा धिमालका ९८ ओटा टोल छन् । परापूर्वकालदेखि मुख्य रुपमा मोरङ र झापामा धिमाल जातिको बसोबास गर्दै आएका उनीहरुको जनसंख्या ३५ हजारको हाराहारी छ । मोरङको तात्कालीन भोगटेनी गाविसको राजारानी क्षेत्र उनीहरुको जन्मथलो मानिने धिमाल पत्रकार मञ्चका अध्यक्ष विजय धिमालले बताए । त्यहाँ ऐतिहासिक २ वटा पोखरी रहेका छन् । त्यहाँ प्रत्येक वर्षको वैशाख २ गते धिमालको महत्वपूर्ण जात्री पर्व मनाउन सुरु गरिन्छ र उर्लाबारीको मंगलबारेमा धिमाल जाति विकास केन्द्र स्थलमा असार २ मा मेला लाग्दै जात्री पर्व समापन गरिने गरेको छ । त्यहाँ सरकारले धिमाल उत्थानको परियोजना सञ्चालनमा १० विगाहा जग्गा उपलब्ध गराएको छ ।



