About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवराज भट्टराई, २५ असार
ताप्लेजुङको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले शनिबार बिहानै सामाजिक सञ्जालमा लेखे, ‘आज १०–११ बजेसम्ममा गुफा–मिल्के– झ्याउ पोखरी क्षेत्रमा सडक मर्मत गर्न भेटौ है, आउनुहोला ।’ आज मात्र होइन, चार दिनअघि गाउँपालिकाले सडक मर्मतमा श्रमदान गर्न इच्छुकलाई सहभागी हुन आह्वान गरेको थियो ।
मदन भण्डारी राजमार्ग (बसन्तपुर–गुफा – साँघु – ढुङ्गेसाघु – दोभान) को गुफा–साँघु सडक खण्ड अत्यन्तै खराब अवस्था रहेको र वर्षायाममा यातायात सुचारु गर्न समस्या भएपछि अध्यक्ष वनेमले गाउँपालिकाबासीलाई श्रमदानका लागि आह्वान गरेका हुन् । संघीय सरकार मातहत रहेको यो सडक खण्डमा गाउँपालिकाको बजेट लगाउन मिल्दैन । मैवाखोलाको ‘लाइफलाइन’को रुपमा रहेको सडक संघीय सरकारले उपेक्षा गरेका कारण वर्षायाममा सञ्चालन गर्न समस्या भएपछि जनप्रतिनिधि, कर्मचारी र पालिकाबासी श्रमदान गरेर भएपनि मर्मत गर्न खटेका हुन् ।


आज गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेम आफैं खटेर सडक मर्मतमा लागे । उनलाई साथ दिए उपाध्यक्ष, वडाध्यक्षसहित जनप्रतिनिधि, गाउँपालिकाका कर्मचारी, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, व्यवसायी, सशस्त्र प्रहरी बल तेल्लाबुङ, तेम्बे र साँघु प्रहरी चौकी र पालिकाबासीले । सयौंको संख्यामा मैवाखोलाबासी सडक मर्मतमा श्रमदान गर्न स्वस्फूर्त रुपमा उपस्थित भए ।


‘वर्षायाममा पनि सवारी साधन सञ्चालन गर्न लागि परेका हौं’ अध्यक्ष वनेमले भने, ‘बाटो अवरुद्ध हुँदा मैवाखोलाका जनसमुदायले धेरै सास्ती भोग्नु परेको थियो ।’ सडक मर्मतमा स्काभेटर, जेसीभी, ट्याक्टर प्रयोग गरिएको थियो । आज विभिन्न व्यवसायीहरुले १७ वटा ट्याक्टर निःशुल्क उपलब्ध गराएका थिए । ट्याक्टरमा ल्याइएको ढुंगा, माटो मिलाउन मैवाखोलाबासी खटेका थिए ।
मिल्केदेखि साँघुसम्म २० भन्दा बढी स्थानमा बिग्रिएको सडक मर्मत गरिएको छ । सडक मर्मतमा वडा नं. १ देखि ६ सम्मका जनप्रतिनिधि, वडाबासीको उल्लेख्य सहभागिता रहेको गाउँपालिकाका प्रवक्ता तथा वडा नं. १ का वडाध्यक्ष चन्द्रकुमार तामाङले बताए । विभिन्न समूह बनाएर सडक मर्मत गर्न तीन सयभन्दा बढीले आज श्रमदान गरेको उनले बताए ।


सबैको साथ र सहयोगले सवारी साधन सहज सञ्चालन हुने बनाइएको बताउँदै गाउँपालिका अध्यक्ष वनेमले सहभागी सबैप्रति आभार व्यक्त गरे । लालीगुराँसको राजधानी तिनजुरे, मिल्के जलजले हुँदै विश्वकै तेस्रो अग्लो हिमाल कञ्चनजंघा तथा प्रसिद्ध तीर्थस्थल पाथीभरा जाने यो बाटोको स्तरोन्नतिमा संघीय सरकारले चासो नदिएको अध्यक्ष वनेमको गुनासो छ । यो सडकका विषयमा बारम्बार जानकारी गराउँदा पनि सरकारले वेवास्ता गरेको उनले बताए ।

तस्वीर सौजन्यः सुवर्ण ढकाल

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय