
उर्लाबारी, २१ असार
उर्लाबारीमा मंगलबार आयोजित एक कार्यक्रममा सहभागीले कानुनी रुपमा जातीय छुवाछुतको अन्त्य भएपनि व्यवहारिक रुपमा अझै अन्त्य हुन नसकेको बताएका छन् । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ उर्लाबारीले उर्लाबारी–५ स्थित बौद्ध गुम्बामा आयोजना गरेको छुवाछुत तथा भेदभाव अन्त्य सम्बन्धी अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले कानुनमा मात्र नभई व्यवहारिक रुपमै भेदभावको अन्त्य हुनुपर्ने बताए ।
कार्यक्रमका प्रमुख अतिथि उर्लाबारी वडा नं. ५ का वडाध्यक्ष रविन लामाले छुवाछुत अन्त्यका लागि सबैको उत्तिकै जिम्मेवारी रहने बताए । बहुभाषी, बहुधार्मिक, बहुजातीय मुलुक नेपालमा छुवाछुत जस्ता कुप्रथा जरैदेखि उखेलिनु पर्ने बताए । सो अवसरमा अन्तर्राष्ट्रिय तामाङ घेदुङका पूर्व अध्यक्ष महेन्द्रजंग तामाङ, नेपाल आदिवासी जनजाति महासंघ नगर समिति अध्यक्ष मणिलाल श्रेष्ठलगायतले मन्तव्य राखेका थिए ।
कार्यक्रमको दोस्रो सत्रमा अधिवक्ता इन्द्रकुमार लुइटेल, दलित युवा सञ्जाल उर्लाबारीका महासचिव तिलक नेपालीले जातीय छुवाछुत, यसका असर र कानुनी व्यवस्थाका बारेमा जानकारी गराइएको थियो । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ नगर अध्यक्ष सीतामाया राईको सभापतित्वमा भएको कार्यक्रममा एक सय जनाभन्दा बढी सहभागी थिए ।