About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० असार
आपत, विपत् र जोखिममा हरेकले सम्झिने र पुकार्ने भनेकै नेपाल प्रहरीलाई हो । दुर्घटनामा पर्दा हामी सहयोगका लागि प्रहरीलाई खबर गर्छौ, समयमा प्रहरी नआउँदा भन्छौँ ‘नेपालका पुलिस जहिल्लै ढिलो आउँछन् ।’ तर तिनै प्रहरीहरु कसरी आफ्नो कर्तव्य निर्वाह गरिरहेका छन् भनेर कहिल्यै सोच्दैनौँ ।
मोरङको उर्लाबारीस्थित इलाका प्रहरी कार्यालयमा प्रहरीका २ वटा गाडी छन् । एउटा गाडी २० वर्षभन्दा पुरानो भएका कारण महिनै पिच्छे बिग्रिरहने समस्या छ भने अर्को गाडी प्रायः मुद्धाको म्याद थप र प्रशासनिक कार्यका लागि विराटनगर धाइरहने गर्छ ।
समस्यामा परेका जनतालाई उद्दार र सहयोगका लागि घटनास्थलसम्म पुग्ने यी गाडीको दयनीय अवस्था बारे कसैले पनि चासो दिएको पाइँदैन ।
उर्लाबारी प्रहरीको टाटा कम्पनीको गाडी २०६४ सालको संविधानसभा निर्वाचनताका आएको गाडी हो । यो गाडी २० वर्षभन्दा पनि पुरानो भइसकेको छ भने त्यही गाडीको भरमा प्रहरीले पेट्रोलिङ गर्ने गरेको छ । गाडीको ढोका न त राम्रोसँग लाग्छ न त गाडीको छानाले बर्खाको पानी नै छेक्छ अनि कतिबेला कहाँ पुगेर बिग्रिने हो थाहा छैन ।
हाम्रै सुरक्षाका लागि हाम्रै गाउँघरतिर पेट्रोलिङमा खटिने यो गाडी कतिबेला कुन गाउँमा पुगेपछि धकेलिमाग्नु पर्ने अवस्थामा पुग्छ भन्न सकिन्नँ ।
अर्को गाडीको त झन् कुरै नगरौँ, महिनै पिच्छे बिग्रिरहन्छ । अहिले पनि त्यो गाडी मर्मतका लागि विराटनगर लगेको महिनौँ हुन लाग्यो, बनिसकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङमा ८ वर्षभन्दा बढी सञ्चालनमा रहेको माज्दा कम्पनीको त्यो गाडी २०६९ सालमा इलाका प्रहरी कार्यालय उर्लाबारीलाई जिल्लाले दिएको हो । जुन गाडी अहिले महिनै पिच्छे बिग्रिने गर्दछ ।
आकस्मिक सेवामा दिनरात खटिने प्रहरीलाई नागरिक र स्वयम् सरकारले समेत प्रहरीले राम्रोसँग काम गरेन भनेर दोष लगाईरहँदा प्रहरीले भने कस्तो अवस्थामा काम गरिरहेको छ भन्नेमा कसैले ध्यान दिएको छैन ।
सवारी साधन उपयोगिताको नियमले पनि २० वर्ष पुगिसकेको गाडी प्रयोगमा ल्याउँदा यसबाट निस्कने धुवा र ध्वनिले वातावरण र मानव स्वास्थ्यमा असर पार्दछ तर ऐन, नियम र कानुनको परिपालना गराउने निकाय नै सरकारको अर्कमण्यताका कारण नाजवाफ रहने गर्दछन् ।
उर्लाबारी नगरपालिकाको ७५ हजार भन्दा बढी जनताको शान्तिसुरक्षमा दिन रात पहरा दिइरहेको प्रहरी आफैँ थोत्रो गाडीको भरमा घटना स्थलमा पुग्दा प्रहरी ढिलो आयो भनेर जनताले गर्ने तिखो गालीले उसको मनोबल कस्तो होला । प्रहरीको यो दयनीय अवस्थाका बारेमा राज्यको साँचो बोकेर आफ्नो मर्जी अनुसार विलासिताको भिआइपी गाडी प्रयोग गर्न लागि परेका सत्ताधारीहरुको ध्यान यी प्रहरीका गाडीमा पर्नु आवश्यक देखिन्छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय