About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २० असार
विभिन्न ठाउँमा मिनी मेला तथा महोत्सव सञ्चालन गर्दै आएका व्यवसायीहरु अनाधिकृत व्यक्तिबाट आउने धाकधम्कीबाट असुरक्षित महशुस गर्न थालेका छन् । उनीहरुले त्यस्ता व्यक्तिलाई कारवाही गर्न माग गरेका छन् ।
कोरोना कहरले थलिएर बिस्तारै तंग्रिदै गरेको अवस्थामा धाकधम्की र हुलहुज्जत हुन थालेपछि पेशाबाटै पलायन हुनुपर्ने अवस्था आएको भन्दै मेला व्यवसायीहरुले गुनासो गरेका छन् । कोभिड महामारीका कारण करिब दुई वर्षदेखि रोकिएका मेला–महोत्सव पुनः सुरु हुन थालेका छन् ।
आफूलाई नेपाल मेला महोत्सव संघको प्रदेश अध्यक्ष बताउने सुनसरीको इटहरी बस्दै आएका नारायण महतोले निश्चित रकम माग गर्दै धम्क्याउने गरेको व्यवसायीहरुको गुनासो छ । संघको नाममा रकम मागेर छोराछोरीका नाममा आइएमई गर्न लगाउने गरेको बताइएको छ । मेला महोत्सव सञ्चालन गर्दै आएका दर्जन बढी व्यवसायीले महतोलाई कारबाही गर्न माग गरेका छन् । आफूले भनेजति रकम नदिएसम्म कार्यस्थलमा काम अघि नबढाउन भन्दै नारायण महतोले धम्क्याउने गरेको व्यवसायी प्रदीप रानापहेली बताउँछन् । उनका अनुसार महतोलाई रकम दिर्नुपर्ने अवस्था आएपछि कतिपय व्यवसायीहरुले त्रासका कारण काम रोकेका छन् ।
यस्ता घटनाको आवश्यक छानविन गरेर निज नारायण महतोलाई कडाभन्दा कडा कारबाही गर्न र काम गर्ने वातावरण बनाउन व्यवसायीहरुले स्थानीय प्रशासनसँग माग गरेका छन् । ‘तोकिएको रकम नबुझाए मेला सञ्चालनमा अवरोध गर्ने गरेका छन्’ व्यवसायी रानापहेली भन्छन्, ‘अब प्रहरी प्रशासनले निर्धक्कसँग मेला सञ्चालनका काम अघि बढाउन आवश्यक सहजीकरण र सुरक्षा प्रवन्ध गर्नुपर्छ ।’ आफूहरुले करको दायरामा रही राज्यबाट स्वीकृति लिएरै मेला लगाउदै आएको उनको भनाई छ । मेला–महोत्सव ठप्प हुँदा देशभर दश हजार बढीकोे रोजगारी गुम्ने र व्यवसायीको करोडौको लगानी डुब्ने भन्दै रानापहेलीले चिन्ता प्रकट गरे ।
नारायण महतोको धाकधम्की र आतंक दोहोरिन नदिन र सामाजिक शान्ति सुरक्षा कायम राख्न आवश्यक पहलका लागि व्यवसायीहरुले सबैमा अनुरोध समेत गरेका छन् । महतोलाई कारबाही माग गर्दै ऐक्यबद्धता जनाउने व्यवसायीहरुमा प्रदीप रानापहेली, कुमार श्रेष्ठ, पर्वत लामा ‘मालदाई’, सनि खड्का, राम अधिकारी, नारायण अधिकारी, गणेश राउत, दिलिप श्रेष्ठ, सपन थापा, गौरी राई, राजकुमार राजवंशी, अनिल साह, रेवत कटुवाल, विनोद चौधरी, विजु राजवंशी, समुन्द्र चौधरी, राधे राई, मन्तोस बंगालीलगायत रहेका छन् । यस विषयमा नारायण महत्तोलाई फोन गर्दा सम्पर्क हुन सकेन ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय