About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, १८ असार
न त छाक टर्ने, न त पेट भरिने । नखाए पनि हुने, नखाँदा पछि नपरिने अनावश्यक वस्तुमा समेत ठूलो मात्रामा पैसा खर्च हुने गरेको पाइएको छ । स्वास्थ्यलाई फाइदा गर्ने भए त ठिकै पनि हो । कुनै पनि हिसाबले पनि अर्थ नभएको वस्तु आयात गरेर ठूलो मेहनत गरेर जम्मा पारेको विदेशी मुद्रा खर्च गर्नुपरेको छ । अनावश्यक र फजुल खर्चमा नेपाली कति अगाडि छन् भन्ने कुराको खास उदाहरण हो चुइगम आयातको तथ्यांक ।
न औषधि नै हुने, न त अत्यावश्यक वस्तु । न त मुलुकमा नै उत्पादन हुन्छ । एकातिर विदेशी मुद्रा सञ्चिति घट्दो छ भने अर्कातर्फ यस्ता अनावश्यक वस्तुको आयात बढ्दो छ । मुलुकको आर्थिक अवस्थाका बारेमा प्रायः सबैमा चेतना नभएको पनि होइन । तर पनि यस्ता अनावश्यक र विलाशिताका वस्तुको आयातमा अर्बौं रकम बाहिरिरहेको तथ्यांक समयसमयमा सार्वजनिक हुने गरेको छ ।
यस्तै तथ्यांक भन्सार विभागले सार्वजनिक गरेको छ । विभागले सार्वजनिक गरेको चालु आर्थिक वर्षको ११ महिनाको आयात निर्यातसम्बन्धी विवरणानुसार जेठ मसान्तसम्म मुलुकमा १३ लाख दुई हजार १९५ किलो चुइगम आयात भएको छ । एकाध मिनेटका लागि नेपाली समाजमा प्रचलित भनाइ जस्तै ‘मुखको तितो मेट्न’ का लागि चपाइने त्यस्ता वस्तुको आयातका लागि मात्रै झन्डै ४१ करोड रुपैयाँ बराबरको लगानी गरिएको छ ।
विभागका अनुसार सो परिमाणको चुइगम आयात गर्न मुलुकबाट ४० करोड ८४ लाख ६७ हजार रुपैयाँ रकम बाहिरिएको छ । नेपालमा विशेष गरी, चीन, भारत र युरोपेली देशबाट चुइगम आयात हुने गरेको छ । त्यस्तै यस अवधिमा चकलेट र यससँग सम्बन्धित वस्तु आयातमा दुई अर्ब ८३ करोड ८८ लाख ८१ हजार बराबरको रकम बाहिरिएको छ ।
११ महिनाका अवधिमा ८० लाख ६१ हजार ६३६ किलो चकलेट र चकलेट बनाउन प्रयोग हुने कच्चा सामग्री आयात भएको छ ।
यस्तै कुरकुरे, कुरमुरे, लेज, चिजबल्स जस्ता खानेकुराको आयातसमेत करोडौंमा हुने गरेको छ । ती खाद्य पदार्थको सेवन नगर्दा पनि नेपाली पछाडि पर्दैनन् । तर जसरी भए पनि खानैपर्ने भन्ने सोचका कारण विदेशी मुद्राको सञ्चिति घटाउन प्रयोग भइरहेको छ ।
चालु आवको पहिलो ११ महिनामा १४ लाख २४ हजार ३६९ किलो बराबरको त्यस्ता खानेकुरा आयात भएको छ । त्यसका लागि मात्रै मुलुकबाट ६६ करोड ६५ लाख २५ हजार बराबरको रकम बाहिरिएको छ । यस अवधिमा बिस्कुटजस्ता खानेकुराको आयातमासमेत अर्बौं रकम विदेशिने गरेको देखिन्छ । चालु आवको जेठ मसान्तसम्म एक अर्ब ३७ लाखभन्दा बढीका बिस्कुट आयात भएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय