
मैवाखोला, १७ असार
ताप्लेजुङको मैवाखोला गाउँपालिकामा अवस्थित माङ्माया खोलाको शिरमा रहेको माङमाया झरनाले त्यहाँ जाने जो कोहीको मन लोभ्याउने गर्दछ । अति सुन्दर र मनमोहक यो झरना प्रचारको अभावमा ओझेलमा पर्दै आएको छ ।
मैवाखोला गाउँपालिका वडा नं. ३ बुङधाक सिरान छायाटारको यो झरनाको प्रवद्र्धन र प्रचारका लागि गाउँपालिकाले चासो दिएको छ । आज गाउँपालिका अध्यक्ष विजय प्रकाश वनेमले उक्त झरनाको निरीक्षण गरेका छन् । वडा नं. ३ का वडाध्यक्ष खगेन्द्र थत्लुङलगायत जनप्रतिनिधि, कर्मचारीसहित उक्त स्थानमा पुगेका अध्यक्ष वनेमले झरना क्षेत्रको विकास र प्रचारका लागि गाउँपालिकाले योजना बनाएर अघि बढ्ने बताए ।
‘आजसम्म यति मनमोहक झरनाको प्रचार हुन सकेको थिएन’ अध्यक्ष वनेमले भने, ‘व्यवस्थित योजनासहित सजिसजाउ गर्न सके आन्तरिक पर्यटनमा सहयोग पुग्ने सम्भावना देखियो । अब यो झरना क्षेत्रको विकासका लागि मास्टर प्लान बनाएर अघि बढ्छौं ।’
वडाध्यक्ष खगेन्द्र थत्लुङले झरना क्षेत्रमा पूर्वाधार विकास गर्न सकिने बताउँदै नजिकै रहेको पोखरीलाई स्वीमिङ पुल बनाएर आन्तरिक पर्यटनको केन्द्र बनाउन सकिने बताए ।