
उर्लाबारी, १७ असार
विहिबार उर्लाबारी–४ का जनप्रतिनिधि, विपत् व्यवस्थापन समितिका सदस्य तथा टोलबासीहरु नाला सफाइमा निस्किए । लामो समयदेखि नाला सफाइ नगर्दा वर्षातको समयमा समस्या भएको हुँदा वडा स्तरीय विपत् व्यवस्थापन समितिले नाला सफाइ अभियान चलाएको हो ।
सो अभियानमा वडाध्यक्ष कल्याणकुमार राई, वडा सदस्यहरु शेखरनाथ दाहाल, सुरेन्द्र न्यौपाने, कृष्णमाया कडरिया, वडाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि र सम्बन्धित टोलबासीको सहभागिता रहेको थियो ।
उक्त टोलीले सृजना आधारभुत विद्यालय छेउ, आदर्श मार्ग र खोर्सानीबारीमा नाला सफाई गरेको वडाध्यक्ष कल्याणकुमार राईले जानकारी दिए । नाला सफाई गर्दा वर्षातको समयमा केही हदसम्म भएपनि डुबानको समस्याबाट बच्न सकिने सन्देश दिने उद्देश्यले सचेतना स्वरुप अभियान सञ्चालन गरिएको उनले बताए ।
वडा कार्यालयले दुई साताअघि नै आफ्नो घर तथा जग्गा अघिको नाला सफा गर्न आग्रह गरेको थियो । आफ्नो घरअगाडिको नाला सफा गर्नु घरधनीकै कर्तव्य भएको वडा सदस्य शेखरनाथ दाहाल बताउँछन् । जनचेतना स्वरुप विपत व्यवस्थापन समितिले यो अभियान चलाएको उनले बताए ।
उर्लाबारी–४ मा १९ सदस्यीय वडा स्तरीय विपत व्यवस्थापन समिति गठन भएको छ । वडाध्यक्ष कल्याणकुमार राईको संयोजकत्वमा गठित समितिको सदस्यमा वडा सदस्यहरु, वडामा क्रियाशील पार्टीका प्रमुख तथा प्रतिनिधिहरु, युवा, महिला, संघसंस्थाका प्रतिनिधि सदस्य रहेका छन् ।



