
उर्लाबारी, १७ असार
उर्लाबारी नगरपालिकाको आठौं नगर सभाको चौंथो बैठकमा आज विभिन्न विधाका १७ जना सम्मानित भएका छन् । कृषि क्षेत्रका १२ जना, कर्मचारी ३ जना र पत्रकार २ जना सम्मानित भएका छन् ।
१२ कृषक पुरस्कृत
उर्लाबारी नगरपालिकाभित्रका उत्कृष्ट १२ कृषकलाई नगर सभाको अवसरमा पुरस्कृत गरेको छ । विभिन्न विधाबाट उनीहरुलाई जनही १५ हजार रुपैयाँसहित २०७८ सालको उत्कृष्ट कृषक सम्मान प्रदान गरिएको हो ।
तरकारी बालीतर्फ उर्लाबारी–९ का विष्णुकुमार बराल, खाद्यान्न बालीतर्फ उर्लाबारी–६ का पदम रिजाल, फलफूल बालीतर्फ उर्लाबारी–४ का नारायण नेपाल, तेलहन बालीतर्फ उर्लाबारी–८ का कमलप्रसाद लुइटेल, मौरीपालनतर्फ उर्लाबारी–२ का बोधराज खतिवडा सम्मानित भएका छन् । यस्तै, च्याउ खेतीतर्फ उर्लाबारी–८ का गणेशकुमारी धिमाल, घाँस खेतीतर्फ उर्लाबारी–१ की प्रमिला चौहान, कुखुरापालनतर्फ उर्लाबारी–८ का सरोज थापा, बाख्रापालनतर्फ उर्लाबारी–४ का लिलम न्यौपाने, माछापालनतर्फ उर्लाबारी–४ का सुवासचन्द्र खापुङ, गाइपालनतर्फ उर्लाबारी–४ कै विज्ञान ढुंगाना र बंगुर पालनतर्फ उर्लाबारी–९ की रामकुमारी वाइवा सम्मानित भएका छन् ।
तीन कर्मचारी पुरस्कृतः
नगरपालिकाले २०७८ सालको उत्कृष्ट कर्मचारी सम्मान तीन जनालाई प्रदान गरेको छ । नगद २५ हजार राशीको उक्त सम्मान नगरपालिकाका अधिकृत मुरारीप्रसाद घिमिरे, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाकी प्रमुख चन्द्रकला सुब्बा र वडा नं. १ का कार्यालय सहयोगी सन्तोष श्रेष्ठ पुरस्कृत भएका छन् ।
दुई पत्रकार पुरस्कृतः
उर्लाबारी नगरपालिकाले प्रत्येक वर्ष प्रदान गर्दै आएको विकास पत्रकारिता पुरस्कार र क्रियाशील पत्रकारिता पुरस्कार नगर सभाको अवसरमा प्रदान गरेको छ । यस वर्ष २५ हजार रुपैयाँ राशीको विकास पत्रकारिता पुरस्कार ज्योति चौहान र २० हजार रुपैयाँ राशीको क्रियाशील पत्रकारिता पुरस्कार विजय धिमालले प्राप्त गरेका छन् ।
यी सबै पुरस्कार र सम्मान उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले प्रदान गरेका हुन् ।