About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १४ असार
हिजो रातिदेखिको अविरल वर्षाका कारण प्रदेश १ का तराइका जिल्ला झापा, मोरङ र सुनसरीका विभिन्न स्थान बाढी र डुबानको चपेटामा परेका छन् । अविरल वर्षाका कारण पूर्वका विभिन्न खोलामा आएको बाढी र डुबानका कारण कतिपय बिस्थापित भएका छन् ।
मोरङको सिंघीया खोलामा आएको बाढी विराटनगर ८ को बस्तीमा पस्दा २५ घरपरिवार विस्थापित भएका छन् । अविरल वर्षापछि विराटनगरको सिंघिया र केसलिया खोलामा बाढी आएको छ । बाढी विराटनगर महानगरपालिका ८ खोला किनार नजिक रहेको बस्तीमा पसेको प्रहरीले बताएको छ । खोला किनारमा रहेका अन्य बस्ती पनि जोखिममा रहेका छन् ।
विस्थापित भएकाहरुलाई नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा उद्धार गरी सुरक्षित स्थानमा सारिएको जनाइएको छ । कटही गाउँपालिका र विराटनगर महानगरका बस्ती छेउका अन्य बस्तीमा पनि बाढी पसेको छ ।
यता, उर्लाबारीमा ५ घरमा पानी पसेको छ । उर्लाबारी नगर प्रहरी इञ्चार्ज याम कार्कीका अनुसार वडा नं. ३ देखि ७ सम्मका विभिन्न क्षेत्र डुबानमा परेका छन् । ती वडाका भित्री पिच बाटाहरुमा ३ फिटसम्म पानी जमेको छ । वडा नं. ६ मा २ घर, वडा नं. ७ मा २ घर, वडा नं. ३ मा १ घर, पसलमा ३ फिटसम्म पानी पसेको कार्कीले बताए ।
झापाको दमकमा रतुवा नदीले कटान तीब्र पारेको छ । नदीको कटानमा कारण दमक–७ मा बस्ती नै जोखिममा परेको छ । त्यहाँ अस्थायी बोराले नदी नियन्त्रणको प्रयास भइरहेको छ । यस्तै, गौरादह–५ को टगुवामा रतुवा नदीले ५० घर डुबाएको छ । गौरादह–६ को लेलिया डागीमा १२५ घरमा रतुवाको बाढी पसेको छ । गौरादह–६ कै दामुनाका ३५ घर डुबान परेका छन् ।
नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले शिवसताक्षी ४ मा कमल बनियानी खोला पस्दा बिस्थापित १ सय २ जनालाई त्रिभुवन माविमा राखिएको बताए । ढकालका अनुसार कमल, दमक, शिवसताक्षी, गौरादह र गौरीगन्ज बाढीको उच्च जोखिममा रहेको उल्लेख गरेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय