About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

लिलाराज भट्टराई

मदन भण्डारीका गुरु धरणीधर न्यौपानेको घर छेउको मतानमा मदन र उहाँका साथीहरु साँझ बिहान पढ्न भेला हुनुहुन्थ्यो । १० वर्षदेखि तलकै उमेरको कुरा हो मदनलाई भूतप्रेत, तर्छाउने, से लाग्ने कुरामा पट्टक्कै विश्वास थिएन । साथीहरुलाई यो भूत प्रेत भन्ने केहि पनि हुँदैन भनेर बताईरहनुहुन्थ्यो तर साथीभाइ नपत्याउने । एक दिन बेलुकीपख त्यहि मतानमा पढ्न भेला भएको बेला मदनले अनायासै भन्नुभयो लु मैले भूत देखेँ । अध्याँरो थियो, अलि पर केराको बोट मुनि देखाउँदै लु हेर त ऊ त्यहाँ भूत, आबुई कत्रा कत्रा आँखा, कस्तो कपडा लगाएको, टाउको हेर न टाउको । मदन जस्तो भन्नुहुन्छ साथीहरुले त्यस्तै पो देखे । डरले थुरथुर भए । मदनले साथीहरुको छातीमा हात राख्नुभयो, सबैको मुटु ढुकढुक गरिरहेको । कत्ति डरछेरुवा हाउ तिमीहरु अब भूतलाई म लात्तीले हानेर बारीको पाटामा पुर्‍याइदिन्छु भन्दै गएर एकलात्ती दिनुभयो । त्यो भूत त डोको पो रहेछ । घोप्ट्याएको डोकोमा केराको पत्ताले हान्दोरहेछ साथीहरुले भूत नै ठाने । उहाँले साथीहरुलाई सम्झाउनुभयो ‘डरायो भने जे सोच्यो त्यहिँ देखिन्छ । भूतप्रेत केहि पनि हँुदैन ।’
यो पंक्तिकारलाई बालक कालदेखिनै मदन भण्डारीको ब्यक्तित्वले आकर्षित गर्‍यो । उहाँको बारेमा जान्ने, सोधीखोजी गर्ने र पाएजति पुस्तकहरु पढ्ने बानी लाग्यो । मदन भण्डारीकै जन्मस्थल ढुंगेसाँघु आफ्नो पनि जन्मस्थलमा सानै उमेरमा मदन भण्डारीका भाषण क्यासेटमा सुनिन्थ्यो । उहाँको भाषण सुनेरै मदन भण्डारीप्रति प्रभाबित भएँ । उहाँको धारा प्रबाह भाषण जुरुक जुरुक उचाल्ने खालका हुन्थे । मेरो मावली घर र मदन भण्डारीको जन्मघर करिब ५ मिनेटको दुरीमा थियो । मावलघर जाँदा बुबाले बाटैबाट मास्तिर देखाउदै यहि हो मदन कमरेडको घर भनेर चिनाउनुहुन्थ्यो । मावल घर पुगेपछि आमाले मामाघर छेउको मतान देखाउँदै भन्नुहुन्थ्यो ‘मदन काकाहरु यहि मतानमा भेला भएर पढनुहुन्थ्यो ।’ बालक मदन भण्डारीले भूतरुपी डोकोलाई लात्ती हानेको आँगन हाम्रै मावली घरको रहेछ । पहिला धरणीधर न्यौपानेको सो घर उहाँहरु तराई झरेपछि हाम्रो मावलीले किन्नुभएको ।

जननेता मदन भण्डारीको बारेमा प्रत्येक वर्ष सप्तकोशी एफएममा कार्यक्रम बनाउने र लेख पनि लेख्दै आएको छु । यो वर्ष मदन भण्डारीको बाल्यकालका बारेमा सोधीखोजी गरेँ । मदन भण्डारी जन्मनुभएकै वर्ष २००९ सालका मदनका तल्लोघरका साथी शिबराज पौडेलसँग कुराकानी गर्ने अवसर मिल्यो । उहाँले मदन भण्डारीको बाल्यकालका बारेमा धेरै रोचक प्रसंगहरु सुनाउनुभयो । यसैगरी मदन भण्डारीलाई बाल्यकालमा अक्षरआरम्भ गराउने गुरु १०३ वर्षीय धरणीधर न्यौपानेले समेत यो उमेरमा ऊ बेलाको स्मरणहरु सुनाउनुभयो ।
बालक मदनको चाहना घरैदेखि लागु गरौं समानता
मदन भण्डारीको बालककालको नाम मोतिराज थियो । मोतिराजलाई अक्षरराम्भ उहाँकै भिनाजु नाताका धरणीधर न्यौपानेले गराउनुभएको रहेछ । १०३ वर्षीय न्यौपाने हाल इटहरीको बुढीखोला पूर्व सुन्दरहरैचामा बसोवास गर्नुहुन्छ । उहाँ अझै पनि चश्मा नलगाई पढलेख गर्न सक्नुहुन्छ । यो पंक्तिकार सँगको भेटमा शिक्षासेवी न्यौपानेले मदन भण्डारीको बाल्यकालका केहि स्मरण गर्नुभयो । उहाँका अनुसार मोतिराज भण्डारीले करिव ४ वर्षको हुदाँ अक्षरारम्भ गर्नुभएको हो । एकदिन ठोट्नेको टुनिबोटे स्कुलमा घुम्दै घुम्दै न्यौपाने पुग्नुभएको रहेछ । मोतिराज हातमा एउटा पोको बोकेर अक्षरारम्भ गराउन जानुभएको रहेछ । धरणीधर न्यौपानेलाई देखेपछि म त भिनाजुबाटै सिक्छु भन्नुभएछ । हातको पोको न्यौपानेलाई दिनुभएछ । केहि चामल, फूल र पैसा रहेछ । त्यहि चामलमा गुरुले ॐ लेख्नुभएछ अनि फूलले भण्डारीलाई पूजा गर्न लगाउनुभएछ । मदनले पूजा गरेर तीनपटक ॐ भन्नुभयो । गुरुले क ख ग घ लेखेर तीन पटक आफूले

मदन भण्डारीका गुरु १०३ वर्षीय धरणीधर न्यौपाने

भन्दै मदनलाई भन्न लगाउनुभएछ । मदनलाई गुरुको महत्व दर्षाउने श्लोक सुनाएर अर्थ पनि लगाउनुभएछ । केहि पछि मदनले न्यौपाने गुरुलाई सोध्नुभएछ ‘गरिब श्रमिकले मीठो मसिनु खानु हुदैन र ?’
गुरुले भन्नुभएछ ‘किन र ?’
मदनले भन्नुभएछ ‘घरमा काम गर्ने गाउँबुढाले मीठो मसिनुखाएको मन पर्छ तर दिएको देख्दिन ।’
गुरुले भन्नुभयो ‘पुग्दैन होला नि ?’
मदन ‘पुग्नेगरि पकाए त पुगिहाल्छ नि ।’
बेलुका मदनले खानानै खानुभएन छ उहाँको माग थियो गाउँले बुढालाई मीठो मसिनो खान नदिएसम्म नखाने । गुरु धरणीधरका दृष्टिमा मदन भण्डारीमा सानै उमेरदेखि नेतृत्व सम्बन्धी गुण थियो । उहाँ ज्येष्ठ नागरिक, श्रमिक, महिला, बालबालिकालाई अत्यन्तै माया गर्नुहुन्थ्यो । बालक कालदेखिनै उहाँमा सबै समान हुनुपर्छ भन्ने धारणा थियो । समानता आफूदेखि र आफ्नै घरदेखि लागु गराउन थाल्नुपर्छ भन्ने चेत उहाँमा बालक कालदेखिनै रहेको देखिन्छ ।
अक्षर नचिनी चण्डी फररर
बालक मदनमा अचम्मको क्षमता थियो, सुनेकै भरमा कण्ठ पार्ने । गुरुले लय हालेर एक पटक पढाएको सुनेर उहाँलाई चण्डीको किताबै आउदो भएछ । उहाँ ठूलालाई पढाएको सुनेरै कण्ठस्त पार्नुहुन्थ्यो । चण्डी मज्जाले भन्ने गरेको देखेर एक दिन उहाँका लक्ष्मी गुरुले लु लेख त भन्नुभएछ त्यसपछि पो थाहा भयो उहाँले त अक्षरै चिन्नुभएको रहेन छ ।
आमाको दुध खाएर आउदै पछार्दै
बालसखा शिबराज पौडेलका अनुसार मदन भण्डारीले पार्टीको कार्यक्रमहरुमा पछिसम्म पनि आमाको दुध सेवनको महत्वका बारेमा उदाहरण सहित बताउनुहुन्थ्यो रे । ६ वर्ष भन्दा कम उमेरकै बेलामा ठोट्नेमा पौडेल र भण्डारी खेतका गरामा पछारी पछारी खेल्नुहुदो रहेछ । मदन भण्डारीले सुरुमै पछार्नुहुदो रहेछ । त्यसपछि पौडेल खुर्र दौडेर आमाको दुध खान जाने अनि आएर पछार्नु हुँदोरहेछ । यहि प्रसंगलाई मदन भण्डारीले पछिसम्म बताउँदै आमाको दुधमा शक्ति हुनाले बच्चालाई नियमित स्तनपान गराउन उत्प्रेरित गर्नुहुदो रहेछ ।

मदन भण्डारीका बालसखा शिबराज पौडेल

बाल्य कालदेखिनै निडर मदन भण्डारी
बाल्यकालदेखिनै मदन भण्डारी निडर र सहासी हुनुहुन्थ्यो । भूत प्रेतमा त उहाँलाई रत्तिभर पनि बिश्वास थिएन । साथीहरुसँग कतै गएर फर्कदा रात पर्‍यो भने सिटा बालेर घरमै पुर्‍याउन जानुहुन्थ्यो तर फर्कदा उहाँ एक्लै फर्कनुहुन्थ्यो । यति राति एक्लै कसरी जानुहुन्छ भन्द मलाई डर लाग्दैन, म जान्छु चिन्ता नगर्नुहोला भनेर एक्लै फर्कनुहुन्थ्यो । २०२० सालतिर उहाँका ठूलो बुबा बित्नुभयो । त्यतिबेला केटाकेटी मान्छे मरेको भनेपछि डराउथे, छेउमा जादैनथे, मलामी जाने त कुरै भएन । ११ वर्षका मदन त लास बोकेर मलामी जानुभएछ । गाउँघरका मान्छे छक्कै परेका थिए । उहाँ साथीहरुसँग घुएत्रो हानी खेल्नुहुन्थ्यो र भन्नुहुन्थ्यो यो घुएत्रो हानेर आकाशदेखि पानी पारिदिन्छु ।
किसानले काम गरेकै ठाउँमा प्रशिक्षण
भूमिगत कालमा मदन भण्डारीको प्रशिक्षण गर्ने गज्जवको प्रभाबकारी शैली रहेछ । गाउँमा गयो किसान जे गर्दैछन् त्यहि काम गर्न थाल्यो त्यहिँ प्रशिक्षित गरायो । मदनलाई कहिले पटुवा गोडिरहेको, कहिले घान काटिरहेको, कहिले दाउनी गरिरहेको, कहिले दाउरा चिरिरहेको देखिने गरेको उहाँका बालसखा शिवराज पौडेलले जानकारी दिनुभयो । पौडेलका अनुसार जसरी किसान काम गदैछन् त्यहि काम गरेपछि प्रहरी प्रशासनले घरपकड गर्ने सम्भावना नै भएन । जनताको काम पनि हुने प्रशिक्षण पनि दिइने गज्जबको शैली मदन भण्डारीले अबलम्बन गरेको पाइन्थ्यो । उहाँ सर्बसाधारणको घरमा गएर खाना खानुहुन्थ्यो खाएको थाल बटुका आफै माझनुहुन्थ्यो । केहि न केही काम नगरि त बस्दै नबस्ने स्मरण गर्नुहुन्छ बालसखा पौडेल । पौडेल भन्नुहुन्छ ‘महासचिब भइसकेपछि पनि केहि कार्यक्रम गर्नुपर्‍यो भने स्टेजमा बिभिन्न कुराहरु मिलाउने गरिरहनुहुन्थ्यो ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय