About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

नवराज भट्टराई
उर्लाबारी, ४ असार
शनिबार उर्लाबारी बजार बन्द भएपनि मध्य दिनको १२ बजे केही चहलपहल भने थियो । चौकैमा रहेको श्रीसगरमाथा सहकारीको प्राङ्गणमा एउटा विवाह कार्यक्रम थियो । बिर्तामोडबाट आएको जन्तीका अगाडि बजेको नौमती बाजाले सबैको ध्यान खिच्यो । त्यतातिर नजर लगाउँदा त, सबै जना तिन छक्क परे ।
ढाकाको साडी, ढाकाकै चोलो, तिलहरी, शिरमा राष्ट्रिय फूल लालीगुराँस, कम्मरमा पहेँलो पटुकीलगाएका महिलाहरु नौमती बाजा बजाउँदै अगाडि बढ्दा फोटो र भिडियो खिच्नेको भीड नै देखियो । बृद्धादेखि युवा उमेरसम्मका महिलाहरु हातमा नर्सिङ्गा, सहनाई, दमाहा, ढोलकी, ट्याम्को र झ्याली लिएर नौमती बाजा बजाउँदै नाच्दै अघि बढ्दा त्यहाँको माहोल फेरियो ।
कुनै जाति विशेष र पुरुषले मात्र बाजा बजाउनुपर्छ भन्ने पुरानो मान्यतालाई तोड्दै विर्तामोड–१ का यी महिलाहरुले समूह बनाएर नौमती बाजा बजाउन थालेको एक वर्ष भएको छ । सुरुमा बाजा बजाउँदै विभिन्न ठाउँमा पुग्न सहज थिएन तर चुनौतीलाई पार गर्दै अहिले उनीहरु निर्धक्कका साथ बाजा बजाउन थालेका छन् । १५ जना महिला मिलेर उनीहरुले देवी पञ्चकन्या नौमती बाजा समूह गठन गरेका छन् । समूहकी अध्यक्ष दिलकुमारी थपलियाको अगुवाईमा सुरुमा उनीहरुले तीन महिना बाजा बजाउने तालिम लिए ।


‘नौमती बाजा, नेपाली पहिचान, नेपाली पहिरन लोप हुँदै गएको छ’ अध्यक्ष थपलियाले भनिन्, ‘यो पहिचानलाई जोगाउनु पर्छ, लोप हुन दिनुहुँदैन भनेर हामी अघि सरेको हौं ।’ सुरुमा छरछिमेकी र आफन्तबाट धेरै टिकाटिप्पणी खेपेका उनीहरु अहिले भने विवाह, व्रतबन्धलगायत शुभकार्यमा बाजा बजाउनकै लागि विभिन्न स्थानमा पुग्ने गरेका छन्, हौसला पाएका छन् । ‘सुरुमा कसैले प्रेरणा दिनुभयो, कसैले घृणा’ उनले भनिन्, ‘घृणालाई पन्छाउँदै यो अवस्थामा आएका छौं ।’ संस्कृति संरक्षणमा आफूहरुको प्रयासलाई अहिले भने घरपरिवार र समाजले पनि राम्रो मान्न थालेको अध्यक्ष थपलिया बताउँछिन् ।
समूहमा आवद्ध सबै महिला विवाहित छन् । एकै परिवारका आमा छोरी र सासू बुहारी पनि समूहमा छन् । हजुरआमादेखि नातिनी उमेर समूहका पनि छन् । १५ जनाको समूह छ । सबै जनालाई घरपरिवारको राम्रो सहयोग छ ।
विवाह, ब्रतबन्ध, पुराणजस्ता विशेष कार्यक्रममा नौमती बाजा बजाउन झापा, मोरङ मात्र होइन, नारायणघाटसम्म पुगेको उनीहरुको अनुभव छ । उनीहरुले बाजा बजाएको ३० हजारसम्म लिने गरेका छन् । यसबाट ५ हजार समूहको कोषमा राख्ने गरेका छन् । अवस्था अनुसार कम शुल्क र कहिँ निःशुल्क पनि बाजा बजाउने गरेको उनीहरुले बताए ।
७१ वर्षीया विष्णुमाया घिमिरे समूहकी ज्येष्ठ सदस्य हुन् । ‘पहिले बाजा समात्दा पनि जात जान्छ भन्थे’ विष्णुमायाले भनिन्, ‘यी जातपातका कुरा नआउन् भनेर पनि बाजा बजाएका हौं, कसैलाई पनि छुवाछुत नहोस्, बाजा बजाउँदैमा अलग्गै हुनुपर्छ भन्ने नहोस्, सबै मानिस समान हुन् ।’ सुरूका दिनमा बाजा बजाउँदै हिँड्दा निकै समस्या परेको घिमिरेले बताइन् । ‘बुढापाका र अग्रजहरुले देख्दा के भन्लान् की भनेर बाजा लुकायौं पनि’ घिमिरेले भनिन्, ‘अहिले त्यस्तो छैन, सबैले हौसला दिनुभएको छ ।’


खासगरी बैशाख, माघ, फागुन, मंसिर, असार, असोज महिनामा पर्ने विवाहका लगनमा कामको चाप हुने गरेको उनीहरू बताउँछन् । त्यस बाहेक अरू महिनामा पनि विभिन्न साँस्कृतिक कार्यक्रम, पुराणमा समेत महिला बाजा समूहको माग बढ्न थालेको छ । ‘सिजनमा त फुर्सद नै हुँदैन, सिकेर राम्रै ग¥यौं भन्ने लाग्छ, दुइ चार हजार कमाउन त अरू व्यवसायमा पनि कमाइन्थ्यो तर संस्कृति जोगाउने कार्यमा योगदान गरेका छौं, यसैमा सन्तुष्ट छौं,’ अध्यक्ष थपलियाले भनिन् । अन्य स्थानमा पनि यस्तै समूह बनाएर बाजागाजाका साथै संस्कृति संरक्षणमा महिलाहरु लाग्नु आवश्यक रहेको उनको भनाई छ ।
‘पश्चिमा संस्कृति भित्रिन थालेपछि नौमती बाजा लोप हुने अवस्था थियो’ उर्लाबारीका शिक्षासेवी कमल गौतम भन्छन्, ‘लोप हुन लागेको बाजा संरक्षणमा महिलाहरू अग्रसर हुनु खुसीको कुरा हो ।’ यसबाट अन्य क्षेत्रका महिलाहरुले पनि पाठ सिक्नुपर्ने गौतम बताउँछन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय