About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २ असार
धिमाल जातिहरुले जात्री पर्व धुमधामका साथ मनाएका छन् । प्रत्येक वर्ष वैशाख २ गतेदेखि सुरु भएको जात्री धिमालका टोलटोलमा पुग्ने गर्छ भने असार २ गते उर्लाबारी–३ स्थित धिमाल जातीय विकास केन्द्रको केन्द्रीय कार्यालय परिसरमा वृहत कार्यक्रम गरी समापन हुने गर्छ ।
सोही अनुरुप विहिबार उर्लाबारीस्थित धिमाल जातीय विकास केन्द्रमा भव्य मेला लागेको थियो । मेलासँगै औपचारिक कार्यक्रम गरी मेला समापन गरिएको हो । कार्यक्रममा प्रदेश नं. १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईको प्रमुख आतिथ्यता रहेको थियो । धिमाल जातीय विकास केन्द्रका केन्द्रीय अध्यक्ष लोकबहादुर धिमालको सभापतित्वमा भएको कार्यक्रममा विविध सांस्कृतिक कार्यक्रम पनि गरिएको थियो ।


पूर्वी नेपालको झापा, मोरङ र सुनसरीमा बसोबास गर्ने अल्पसङ्ख्यक धिमाल जातिको जात्री पर्व मोरङको लेटाङ–१, भोगटेनीस्थित राजारानी महाराजस्थानमा प्रत्येक वर्ष वैशाख २ गते पूजाआजा गरेपछि सुरु हुन्छ । अघिल्ला दुई वर्ष कोरोनाले प्रभावित भएको जात्री पर्वलाई यस वर्ष उल्लासमय रूपमा मनाइएको छ । भोगटेनीबाट पर्व सुरु भएपछि धिमाल बस्तीको टोलटोलमा जात्री मनाइन्छ र असार २ गते धिमाल जातीय विकास केन्द्रमा समापन गरिन्छ ।


प्रकृतिपूूजक धिमाल जातिले रोगव्याधि नलागोस्, बाली बिरुवा लगाउने बेलामा वर्षात् होस्, जङ्गली जनावरले दुःख नदियोस् लगायत कामनासहित हाँस, कुखुरा, सुँगुरको बली दिएर सामूहिक पूजाआजा गर्ने गर्छन् । परापूर्वकालमा धिमाल जातिले प्राकृतिक तथा वन्यजन्तुबाट आउने अप्ठ्यारा र समस्या समाधान गर्न ग्रामथानमा पूजा गर्दा कामना पूरा भएपछि यसलाई निरन्तरता दिँदै जात्री मनाउन थालिएको जनविश्वास रहेको केन्द्रका महासचिव मात्रिका धिमालले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय