About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

विराटनगर, १ असार
प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङबोले आगामी आर्थिक वर्ष २०७९÷८० का लागि ३९ अर्ब ७३ करोड ८३ लाखको बजेट पेश गरेका छन् । आन्तरिक आम्दानीबाट चार अर्ब ९८ करोड ४५ लाख, राजश्व बाडफाटबाट ११ अर्ब ८८ करोड १४ लाख प्राप्त हुने अनुमान गरिएको छ । बजेटका लागि संघबाट प्राप्त हुने वित्तीय समानिकरण अनुदानबाट ९ अर्ब ८२ लाख र सशर्त अनुदानबाट ८ अर्ब ६९ करोड, समपुरक अनुदान ९२ करोड र विशेष अनुदान मार्फत ४७ करोड ५० लाख प्राप्त जनाइएको छ ।
प्रदेश १ सरकारले प्रदेशका लोकमार्गहरू निर्माणका लागि ५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । लोकमार्गहरूको काम सक्नका लागि ५ अर्ब बजेट विनियोजन गरेको हो । प्रदेशमा सय वटा झोलुङ्गे पुल निर्माणका लागि ३० करोड बजेट विनियोजन भएको छ । इटहरीमा टेङ्ग्रा खोलालाई बुढीखोलामा मिसाउनका लागि अध्ययन गर्नका लागि पनि बजेट विजियोजन गरेको छ । सुनसरी, उदयपुर र धनकुटा जोड्ने गरी बराह क्षेत्रमा कोशी र कोकाह नदीमा झोलुङ्गे पुल निर्माण गरिने भएको छ । त्यसका लागि २ करोड रुपैयाँ बजेट विनियोजन गरेको मन्त्री आङबोले बताए ।
मुन्धुम पदमार्ग यसै वर्ष सम्पन्न गर्ने र थप चार वटा पदमार्ग निर्माण गर्ने पनि घोषणा गरिएको छ । विराटनगर विमानस्थलको स्तरोन्नति गर्ने र विराटनगरबाट पहाडी जिल्लाहरुमा नियमित हवाई उडान र माउन्टेन फ्लाइट सञ्चालन गर्न पहल गर्ने बजेट मार्फत घोषणा गरिएको छ । पर्यटन प्रवद्र्धन र संस्कृतिका लागि १ अर्व १३ करोड बिनियोजन गरिएको छ ।
जनयुद्ध, मधेश आन्दोलनमा ज्यान गुमाएका परिवारका लागि एक लाख रुपियाँ उपलब्ध गराइने भएको छ । स्थानीय तहलाई तीन अर्व बढी हस्तान्तरण गरिने भएको छ । आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले घरेलु मदिरा ब्रान्डिङका लागि बजेट विनियोजन गरेको बताए । तर कति बजेट खुलाएनन् । दूध उत्पादन गर्ने किसानलाई प्रतिलिटर २ रुपैयाँ अनुदान दिन आवश्यक बजेट विनियोजन गरिएको छ ।
प्रदेश १ मा प्रदेश प्रज्ञा प्रतिष्ठान गरिने भएको छ ।  इटहरी रंगशालमा रात्रीबत्ति जडान गर्नका लागि आवश्यक वजेट बिनियोजन गरिएको छ । बिराटनगर, धरान र इटहरी चौकमा ट्राफिक लाईट जडान गरिने भएको छ ।
निर्वाचन क्षेत्र विशेष कार्यक्रमका लागि ९० करोड रुपैयाँ बजेट विनियोजन गरिएको छ । विगतमा प्रत्यक्ष निर्वाचित र समानुपातिक सांसदहरुका लागि फरक फरक व्यवस्था भएपनि आगामी आर्थिक वर्षका लागि समान रकम विनियोजन गरिएको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय