About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३० जेठ
उर्लाबारीमा लाग्ने हाटबजारलाई व्यवस्थित बनाउन प्रयास सुरु गरिएको उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलले बताएका छन् । उर्लाबारी हाट खोलामा लाग्ने शुक्रबारे बजार, मंगलबारे, दुर्गापुरीमा लाग्ने बजारलाई व्यवस्थित गर्ने विषयमा छलफल चलाइएको उनले बताए ।
आज उर्लाबारी उद्योग वाणिज्य संघले आयोजना गरेको नवनिर्वाचित जनप्रतिनिधिहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा प्रमुख अतिथि रहेका उनले उर्लाबारीमा शान्ति सुरक्षा कायम गर्ने विषयमा सशस्त्र र जनपथ प्रहरीका स्थानीय कार्यालय प्रमुखसँग छलफल भएको बताए । व्यापारी, व्यवसायीबाट शान्ति सुरक्षा हुनुपर्ने माग आएको बताउँदै उनले समाजमा शान्ति सुरक्षा खलल गर्ने जो कोहीलाई कानुनी दायरामा ल्याउनु पर्ने बताए । यस्तै, उर्लाबारीका विभिन्न स्थानमा राखिएका सीसी क्यामेराको मर्मत र नयाँ क्यामेरा जडानमा नगरपालिकाले चासो लिएको बताए । नगरपालिकाले लगाएको करको दर घटाएर दायरा बढाउने उनले बताएका छन् । उर्लाबारी बसपार्क र ढल निकासको विषयमा चासो बढेको बताउँदै उनले भने, ॅढल निकासको विषय निकै पेचिलो भए पनि लागि पर्ने छौं ।’
कार्यक्रममा नगर उपप्रमुख मीना खतिवडा पौडेलले व्यापारी, व्यवसायीका समस्या समाधानमा सुझाव, सल्लाह अनुसार अघि बढ्ने बताइन् । करका विषयमा धेरै गुनासो आएको बताउँदै उनले साना व्यापारीलाई आयस्रोतका आधारमा कर लिनुपर्ने सुझाव पनि आएको बताइन् । यस विषयमा छलफलबाट निणर्य निकालिने उनको भनाई थियो ।
उर्लाबारी मधुमल्ला सडकका कारण उर्लाबारीको व्यापार व्यवसाय धरासायी भएकोले आफूले यस सम्बन्धमा प्रदेशका मुख्यमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताइन् । भनिन् ॅयो सडक बनाउने विषयमा पहलकदमी लिन्छौं ।’
सो अवसरमा संघका अध्यक्ष शेरबहादुर भण्डारी, निवर्तमान अध्यक्ष प्रितम खड्गी, पूर्व अध्यक्ष तेजकुमार रिजालले उर्लाबारीको व्यापारिक समस्याका बारेमा जानकारी गराएका थिए । जनप्रतिनिधिले कुनै पूर्वाग्रह नराखी उर्लाबारीको व्यापार क्षेत्रको विकासमा ध्यान दिनुपर्ने उनीहरुको धारणा थियो । कार्यक्रममा उर्लाबारी-५ का वडाध्यक्ष रविन लामाले व्यापारी, व्यवसायीका समस्यामा आफू सदैव साथमा रहेको बताए । संघका अध्यक्ष शेरबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष यमलाल रसाइली स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रम सञ्चालन महासचिव हेमराज गुरुङले गरेका थिए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय