About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, ३१ असार
आगामी आर्थिक वर्ष २०७८÷०७९ को नीति, कार्यक्रम तथा बजेट पारित गर्दै मोरङको उर्लाबारी नगरपालिकाको सातौं नगर सभा आज सम्पन्न भएको छ । नगर सभामा गत असार १० गते नगर उपप्रमुख लक्ष्मीदेवी भण्डारीले प्रस्तुत गरेको नीति, कार्यक्रम तथा बजेट सर्वसम्मतले पारित भएको हो ।
उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८५ करोड ७४ लाख ३४ हजार ६८० रुपैयाँको बजेट ल्याएको हो । नगरको गौरवको योजनाका रुपमा बक्राहा घाट निर्माणलाई ७० लाख रुपैयाँ विनियोजन गरिएको छ । गत वर्षपनि गौरवको योजनाका रुपमा राखेपनि काम हुन सकेको थिए । यस वर्ष भने निर्माण सुरु गरेरै अघि बढ्ने नगर प्रमुख खड्ग फागोले बताए ।
धिमाल पहिलो जाति
नगरसभाले धिमाल जातिलाई उर्लाबारीको पहिलो जाति घोषणा गर्ने निर्णय गरेको छ । आदिमकालदेखि बसोबास गर्दै आएका धिमालहरुलाई पहिलो जाति घोषणा गर्ने नगरसभाबाट सर्वसम्मत निर्णय गरेको हो । यसअघि झापाको दमक, मोरङको बेलबारी, पथरी शनिश्चरेलगायत स्थानीय तहले धिमाललाई पहिलो जाति घोषणा गरेका थिए ।
वडा सदस्यका गुनासा
नगरसभामा वडा नं. ३ का वडा सदस्य भीष्म बुढाथोकीले स्वास्थ्य क्षेत्रमा माफियाको चलखेल बढेको बताउँदै नगरपालिकाले नियमन गर्नुपर्ने बताए । उनले नगरमा रहेका अस्पतालहरुको अनुगमन गरी नागरिकलाई सहज र सर्वसुलभ स्वास्थ्य सेवा लिने वातावरण तयार गरिनुपर्ने बताए । उनले भने, ‘खोला कटान र डुबान एकातिर, बाँध अर्कोतिर बनाइएको छ । यसतर्फ ध्यान दिनुपर्छ ।’ नगरमा एक आधुनिक रंगशाला निर्माण गर्न आवश्यक रहेको उनले बताए ।
सोही वडाका सदस्य सोमप्रसाद तिम्सिनाले सामुदायिक भवन, मठ, मन्दिर निर्माणमा लगाइँदै आएको १० प्रतिशत लागत सहभागिताको प्रावधान हटाइनु पर्ने, कोरोनाको पिसिआर जाँचको व्यवस्था गर्नुपर्ने माग राखे । यस्तै, वडा नं. ४ का सदस्य कल्याण राईले वडामा आएका योजनामा समन्वयको अभाव भएको बताए । राजमार्ग उत्तर र दक्षिण रहेको आफ्नो वडामा उत्तरतर्फ मात्र सडक कालोपत्रे भएको र दक्षिणतर्फ कुनै पनि सडक कालोपत्रे हुन नसकेको बताए । उनले भने, ‘राजमार्ग दक्षिणका जनताले कालोपत्रे हेर्न हाइवे नै आउनु पर्छ ।’
यस्तै, वडा नं. ५ का वडा सदस्य रविन लामाले १० लाख माथिको योजनामा इविडिङमार्फत ठेक्का लगाउनु पर्ने, ढल निकासको उचित व्यवस्थापन गर्नुपर्ने, स्वास्थ्य स्वयम्सेविकाहरुको दक्षता विकासमा जोड दिनुपर्ने बताए । वडा नं. ८ का वडा सदस्य लक्ष्मी ढुंगानाले दुर्गापुरी बजारको ढल सफाइको कार्य अघि बढाउनुपर्ने, खेलकुद शीर्षकमा विनियोजन भएको रकम कार्यविधि बनाएर मात्र खर्च गर्नुपर्ने, वडाको सिलिङ बजेटमा नगरले हस्तक्षेप गर्नु नहुने धारणा राखे ।
सञ्चार क्लबको भवन निर्माणमा १० लाखः
उर्लाबारी नगरपालिकाले सञ्चार क्लब नेपालको भवन निर्माणका लागि पहिलो चरणमा १० लाख रुपैयाँ छुट्याएको छ । मेयर खड्ग फागोको विशेष पहलमा भवन निर्माणका लागि नगरसभाबाट बजेट विनियोजन गरेको हो । उर्लाबारी वडा नं. ६ मा रहेको पाँच कट्ठा जग्गामा भवनसहित सामुदायिक भवन निर्माण गर्ने लक्ष्य रहेको क्लबका अध्यक्ष सरोज बस्नेतले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय