
उर्लाबारी, ३० जेठ
भुकम्प प्रतिरोधी घर निर्माण गर्न सिकाउने उद्देश्यले मोरङको उर्लाबारीमा डकर्मी तालिम सुरु गरिएको छ । घर निर्माणमा काम गर्ने मिस्त्रीहरुलाई सहभागी गराई तालिम प्रदान गरिएको हो ।
उर्लाबारी-३ स्थित दुर्गा माध्यमिक विद्यालयमा सञ्चालित तालिममा उर्लाबारीका ३४ जना मिस्त्रीहरुले सहभागिता जनाएको उर्लाबारी नगरपालिका घर नक्सा शाखाका इन्जिनियर राजेन्द्र थापाले जानकारी दिए । तालिमको सहजीकरण अमर जानकी कन्सल्टेन्सी दमकले गर्दै आएको छ ।
उर्लाबारी नगरपालिकाकी उपप्रमुख मीना खतिवडा पौडेल र प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले आज तालिमको अनुगमन गरेका छन् । सो क्रममा उपप्रमुख पौडेलले भुकम्प प्रतिरोधी घर निर्माण गर्न तालिम फलदायी हुने भएकोले तन, मन लगाएर सीप सिक्न सहभागीलाई आग्रह गरिन् ।
तालिम समापनका दिन सहभागीहरुलाई प्रमाणपत्र वितरण गरिने जनाउँदै प्रमुख प्रशासकीय अधिकृत अधिकारीले उक्त प्रमाणपत्रका आधारमा व्यवसाय दर्ता गरेर निर्माण सम्बन्धी कार्य गर्न पाउने बताए ।



