About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ताप्लेजुङ, २९ जेठ
नेकपा माओवादी केन्द्र ताप्लेजुङका इञ्चार्ज खेलप्रसाद बुढाक्षेत्री (पराग) र जिल्ला संयोजक विष्णुकुमार लिम्बू (बिरु) को स्वेच्छाचारी कदमका कारण आफ्नो पार्टीको भागमा परेको जिल्ला समन्वय समितिको प्रमुख पद गुमेको नेकपा माओवादी केन्द्र प्रदेश १ कमिटीका सदस्यहरुले आरोप लगाएका छन् ।
प्रदेश कमिटी सचिवालय सदस्यहरु विजय प्रकाश वनेम र लक्ष्मी अन्छङ्बो, प्रदेश कमिटी सदस्यहरु ठाकुरसिंह लिम्बू र दावा छिरिङ शेर्पाले आज प्रेस विज्ञप्ती प्रकाशित गरी इञ्चार्ज र संयोजकको मनोमानीले जिसस प्रमुख पद गुमाउनु परेको बताएका हुन् । स्थानीय तह निर्वाचन सम्पन्न भएको एक महिनासम्म पनि पार्टीको समीक्षा बैठक नबोलाइएको, जिसस निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न पटक पटक बैठक बोलाउन आग्रह गर्दा पनि बेवास्ता गरेर पार्टीको संस्थागत प्रणाली र जनवादी केन्द्रीयता उल्लंघन गर्दै स्वेच्छाचारी रुपमा आफूले चाहेको व्यक्तिलाई मात्र उम्मेद्वार बनाउने गरी इञ्चार्ज र संयोजकले गलत भूमिका खेलेको विज्ञप्तिमा जनाइएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘नगर÷गाउँ, वडा तथा कार्यपालिका सदस्यहरुको निर्वाचन सम्पन्न भएको एक महिना बितिसक्दा पनि पार्टीको समीक्षा बैठक नबसाउनु, जिल्ला समन्वय समितिको निर्वाचनका लागि उम्मेद्वार सिफारिस गर्न बैठक बोलाउन पटक पटक आग्रह गर्दा समेत बेवास्ता गरी पार्टीको संरचनाहरु जिल्लामा कार्यरत प्रदेश कमिटी सदस्यहरुको बैठक, जिल्ला समन्वय समितिको बैठक, स्थानीय तहको निर्वाचनमा निर्वाचित अध्यक्ष÷उपाध्यक्ष वा समन्वय समितिका आकांक्षी उम्मेद्वारहरु मध्ये कुनै पनि बैठक नबोलाई पार्टीको संस्थागत प्रणाली र जनवादी केन्द्रीयता उल्लंघन गर्दै स्वेच्छाचारी रुपमा पार्टी प्रदेश कमिटीका नेतृत्वलाई समेत दिग्भ्रमित गरी आफूले चाहेको व्यक्तिलाई मात्र उम्मेद्वार बनाउने गरी खेलेको गलत भूमिकाको कारण अहिलेको परिस्थिति सिर्जना भएको हो ।’ ‘यस्तो गलत रवैयाले पार्टीको सामुहिक नेतृत्व प्रणाली ध्वस्त पार्दै पार्टीलाई दुई जनाको निजी स्वामित्वको बस्तु झै ठानी गरिएका र चालिएका उक्त कदमको निन्दा गर्दै कुनै पनि भ्रममा नपर्न आम पार्टी सदस्य तथा जनसमुदायमा हार्दिक अपील गर्दछौं’ विज्ञप्तीमा भनिएको छ ।
ताप्लेजुङमा गठबन्धन दलहरुबीच यसअघि नै जिससको संयोजक नेकपा माओवादी केन्द्रलाई दिने सहमति भएको थियो । तर, पार्टीभित्रको विवादका कारण आज नेकपा माओवादीबाट संयोजकमा उम्मेद्वारी दिएका गंगाराम शंकरको उम्मेद्वारी पार्टी प्रदेश कमिटीले फिर्ता लिएको छ । यसप्रति असहमति जनाउँदै प्रदेश कमिटीका नेताहरुले विज्ञप्तिमा भनेका छन्, ‘गठबन्धनको पूर्व सहमति अनुसार हाम्रो पार्टीको भागमा परेको जिल्ला समन्वय समितिको प्रमुख पद आफूले भनेको व्यक्तिले नपाउने परिस्थिति भएपछि अन्य दललाई बुझाउने निर्णय गरी सिंगो पार्टीको अस्तित्व माथि प्रहार गर्ने काम भएको छ । ठीक यही परिस्थितिमा पार्टी प्रदेश कमिटीले समेत पार्टीका आधिकारिक उम्मेद्वार गंगाराम शंकर भइरहेको अवस्थामा गठबन्धनको पूर्व सहमति अनुसार मतदान गराउने वातावरण निर्माण गर्न भूमिका खेली समन्वय समितिको प्रमुख आफ्नो पार्टीबाट कायम गराउनको सट्टा उम्मेद्वारी फिर्ता लिन चालिएको कदमप्रति खेद प्रकट गर्दछौं । नेतृत्वको यो कदमले पार्टीभित्र उत्पीडित समुदायलाई हेर्ने दृष्टिकोणमा पार्टीको नीति सिद्धान्तसँग मेल नखाएको प्रष्ट हुन्छ ।’ उनीहरुले पार्टीभित्र देखा परेका सबै खाले गलत चिन्तन र प्रवृत्तिका विरुद्ध रुपान्तरणका लागि खुला रुपमा आवाज उठाउने जनाएका छन् ।
उता, पार्टी जिल्ला इञ्चार्ज बुढाक्षेत्री र संयोजक लिम्बूले विज्ञप्ती प्रकाशित गरी जिसस प्रमुखमा नेकपा एसका छिरिङ लामा आफूहरुको आधिकारिक उम्मेद्वार भएको जनाएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय