
काठमाडौं, २८ जेठ
आज बिहानैदेखि एउटा समाचारले धेरैको ध्यान केन्द्रीत गराएको छ । नुवाकोटको ककनी गाउँपालिका वडा नं. ७ स्थित बिजुलीको हाइटेन्सन प्रशारण लाइनको तारतारै मान्छे हिँडेको समाचारले सबैको ध्यान खिचेको छ । उक्त व्यक्तिका कारण स्थानीय प्रशासनले हैरानी पाएको छ ।
मानसिक सन्तुलन ठीक नभएका एक व्यक्ति टावर चढेर तारमा हिँडिरहेकाले समस्या भएको छ । ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङले भनेका छन्, ‘फकाएर ओर्लनभन्दा पनि मान्दैन, तारतारै हिँडिरहेको छ । खसेर मर्ला भन्ने डर भयो, अर्को मान्छे गएर निकाल्न पनि गाह्रो छ, अब हेलिकप्टरबाटै गएर झिक्नुपर्ला जस्तो छ ।’
उनका अनुसार ती व्यक्ति नुवाकोट बेलकोटगढी नगरपालिका ९ का हुन् । उनी टावर चढिरहेको देखिएपछि स्थानीयले विद्युत प्राधिकरणमा खबर गरिएपछि लाइन काटिएको तामाङले बताए । प्रहरी र स्थानीयले तलबाट फकाएर ओर्लन भनिरहे पनि उनले मानेका छैनन् ।
यसैबीच, बिजुलीको हाइटेन्सन प्रसारण लाईनमा चढेका मानिसको तत्कालै उद्दार गर्न उर्जा मन्त्री पम्फा भुषालले नेपाली सेनालाई आग्रह गरेकी छिन् । ती व्यक्तिलाई ओराल्न धेरैले प्रयास र आग्रह गर्दा केही उपाय नलागेपछि मन्त्रीले सेनालाई गुहार्नुपरेको हो ।



