
उर्लाबारी २८ जेठ
मोरङको उर्लाबारी नगरपालिका–५ सिसौली अरुण टोलस्थित उर्लाबारी धिमाल टोल समितिले धिमाल ग्रामथान उद्घाटनसँगै बृहत साँस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ ।
उर्लाबारी धिमाल टोल समितिका अध्यक्ष विनोद धिमालको अध्यक्षता र उर्लाबारी नगरपालिकाका मेयर गंगाप्रसाद खरेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मेयर खरेल र उपमेयर मीना खतिवडा पौडेलले संयुक्त रुपमा धिमाल ग्रामथानको उद्घाटन गरे ।
वडा नम्बर ४, ५ र ६ मा बसोवास गर्दै आएका धिमालहरुले नयाँ टोल समिति निर्माण गरी प्रथम पटक बृहत कार्यक्रमको आयोजना गरेको समितिका उपाध्यक्ष प्रताप धिमालले जानकारी दिए । सोही अवसरमा लामो समयदेखि फुटबल खेलमा निरन्तरता दिँदै आएका उर्लाबारी–६ का फुटबल खेलाडी बिजय धिमाल र रजिन धिमाललाई सम्मान गरिएको थियो । त्यस्तै, झापा अढिमहल, मोरङको पथरीशनिश्चरे र रतुवामाईका कलाकारहरुले धिमाल जातिको मौलिक धिमाल नाच प्रदर्शन गरेका थिए । धिमाल समुदायका राष्ट्रिय गायक डिकबहादुर धिमाल, राजेश धिमाल, सुरेश धिमाल र हास्य कलाकार बिक्रम धिमालको बेजोड प्रस्तुति रहेको थियो । साथै सितोरिया कराँते उर्लाबारी डोजोको जुनियर काता प्रदर्शन समेत गरिएको समितिका सचिव मानबहादुर धिमालले जानकारी दिए ।
कार्यक्रममा धिमाल जातीय विकास केन्द्रका केन्द्रीय महासचिव मात्रिका धिमालले उर्लाबारीम धिमाललाई पहिलो जाति घोषणा गरेपनि लागु हुन नसकेको बताए । मठमन्दिर र अन्य जातिको पर्वमा रकम छुट्याइएपनि धिमाल जातिलाई उपेक्षा गरिएको उनले बताए । धिमाल जातिहरु एकजुट भएर अब अधिकार माग्न जरुरी रहेको भन्दै उनले आगामी असार २ गते धिमाल परियोजना स्थल दसबिगे मंगलबारेमा हुने जात्री पर्व समापनको दिन मोरङ, झापा र सुनसरी जिल्लामा सरकारी विदा हुनुपर्ने जोड दिँदै मन्त्रालयदेखि स्थानीय तहमा ज्ञापन पत्र बुझाएको जानकारी गराए ।
कार्यक्रमका वक्ताहरुले पुर्खादेखि जोडिदै आएको धिमाल जातिको यस पर्वलाई जीवन्त राख्न सकेको साथ र सहयोग रहने भन्दै जात्री पर्वको शुभकामना व्यक्त गरेका थिए । प्रमुख अतिथि नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, वडा नम्बर ५ का वडाध्यक्ष रविन लामालगायतले शुभकामना मन्तव्य राखेका थिए ।



