
काठमाडौं, २५ जेठ
बालबालिकालाई पनि कोरोना खोप लगाइने भएको छ । पाँचदेखि ११ वर्षसम्मका बालबालिकाले ९ असारदेखि कोभिडविरुद्धको खोप लगाउने भएको हो । स्वास्थ्य मन्त्रालयका स्रोतका अनुसार उक्त खोप जेठ अन्तिमसम्ममा नेपाल आउने छ ।
‘खोप सञ्चालन गर्नुभन्दा सात दिन अगाडि नै खोप उपलब्ध गराइदिनुहोस भनेका छौं । खोप कार्यतालिका अनुसार जेठ २५ देखि ३० भित्रमा २० लाख मात्रा आउने छ,’ स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले भने । फाइजर पेडियाट्रिक खोप सञ्चालनका लागि आवश्यक पर्ने सबै तयारी पूरा भइसकेको मन्त्रालयले जनाएको छ ।
उक्त खोप लगाउन ३९ लाख बालबालिका लागि दुई चरणमा कोरोनाविरुद्धको खोप सञ्चालन गरिनेछ । पहिलो चरणमा २७ जिल्लाका १९ लाख बालबालिकालाई ९ देखि १५ असारसम्म पहिलो मात्रा दिइनेछ । पहिलो चरणमा पहिलो डोज खोप लिएकालाई साउन २ देखि ८ गतेसम्म दोस्रो डोज दिइनेछ । यस्तै, दोस्रो चरण ५० वटा जिल्लामा भदौ ५ देखि ११ गतेसम्म पहिलो डोज सञ्चालन हुनेछ भने भदौ २७ देखि असोज १ सम्म दोस्रो डोज दिइनेछ ।
महाशाखाका अनुसार ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई पहिलो चरणमा प्रदेश नं. १ बाट झापा, मोरङ, सुनसरी, मधेश प्रदेशबाट सप्तरी, धनुषा, पर्सा, सिराहा र महोत्तरी, बागमती प्रदेशबाट काठमाडौं, ललितपुर, भक्तपुर, चितवन, काभ्रे र सिन्धुली जिल्लाबाट खोप पाउनेछन् । त्यसैगरी, लुम्बिनी प्रदेशबाट पश्चिम नवलपरासी, रुपन्देही, बाँके, दाङ, कपिलवस्तु र बर्दिया, कर्णाली प्रदेशबाट सुर्खेत तथा सुदूरपश्चिम प्रदेशबाट कैलाली, कञ्चनपुर र डडेलल्धुरामा खोप कार्यक्रम सञ्चालन गरिने छ ।



