
उर्लाबारी, २४ जेठ
उर्लाबारी नगरपालिकाले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम र बजेटमा समेटिनु पर्ने विषयमा सरोकारवालासँग छलफललाई तीब्र बनाएको छ । नगर प्रमुख गंगाप्रसाद खरेलले निर्वाचनताका गरेको प्रतिबद्धता अनुसार विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग छलफल गरिएको हो ।
आज सहकारी सञ्जाल, महिला समूह, अपाङ्गता भएका व्यक्तिहरुसँग छुट्टाछुट्टै छलफल भएको छ । बिहान नगरपालिकाको सभाहलमा नगर प्रमुख खरेलको अध्यक्षतामा भएको छलफलमा उर्लाबारीका सहकारी अगुवाहरूले नगरको नीति कार्यक्रममा समेटिनु पर्ने विषयमा आआफ्ना धारणा राखेका थिए । उनीहरूले सहकारीका सञ्चालकको क्षमता अभिवृद्धिका लागि तालिम दिनु पर्ने, अनुगमन, निरीक्षण गर्नु पर्ने, सहकारी मार्फत रोजगारी सिर्जनामा सहयोग गर्नु पर्ने लगायतका सुझाव राखेका थिए ।
सहकारी अगुवाहरु तेजकुमार रिजाल, सीता कार्की, गोमा नेपाल, प्रेमप्रकाश कोइराला, डिवि थापालगायतले सुझाव दिएका थिए । सो अवसरमा नगर प्रमुख खरेलले रोजगारी सिर्जना गर्न साझेदारीमा के कस्ता कार्य गर्न सकिन्छ त्यसको प्रस्ताव ल्याउन आग्रह गरे । प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पारेका थिए भने सहकारी शाखा प्रमुख कविता ढुंगानाले नगरको सहकारी ऐनका बारेमा जानकारी गराएकी थिइन् ।
दिउँसो अन्तरपार्टी महिला सञ्जाल, महिला विकास समिति र सञ्जालसँग भएको छलफलमा मेयर खरेलले सबैको अपनत्व हुने किसिमको नीति, कार्यक्रम तथा बजेट ल्याइने बताए । प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले सबै सक्ष बजेट पुगोस् भन्ने उद्देश्यका साथै महिला सम्बन्धी कस्ता कार्यक्रम गर्न सकिन्छ भनेर सुझाव संकलनका लागि कार्यक्रम आयोजना गरिएको बताए ।
सो अवसरमा महिला, बालबालिका शाखा प्रमुख चन्द्रकला सुब्बाले शाखा मार्फत गरिएका कार्यक्रमका बारेमा जानकारी गराएकी थिइन् । उर्लाबारीमा विभिन्न सीप विकास तालिमहरु, व्युटिपार्लर, सिलाइकटाई, ढाका बुनाई तालिम दिई रोजगारी सिर्जना गरेको बताउँदै उनले नगरभित्रमा ८९ वटा समूह गठन गरेर बचत परिचालन गरेको जानकारी दिइन् । छलफलमा बोल्ने अधिकांश सहभागीले महिलाहरुलाई सीप विकास तालिम, उद्घोषण, प्रस्तावना लेखन, माइन्युट लेखनलगायत तालिम प्रदान गरिनु पर्ने बताए । यसअघि तालिम लिएकाले रोजगारी पाएकी पाएनन् भन्ने कुराको खोजी समेत गर्नुपर्ने उनीहरुको भनाई थियो । महिला समूहका माया राई, कल्पना नाल्बो, कुमारी कुइकेल, भीममाया लिम्बू, दिपा थापा मगर, गंगा गिरी, सुमति मुर्मु, महिला अगुवाहरु सरस्वती रिजाल, भीष्माकुमारी रेग्मी, शान्ता रिमाल, तारा पौडेललगायतले धारणा राखेका थिए ।
आजै अपाङ्गता भएका व्यक्तिहरुसँग पनि छलफल भएको छ । अपाङ्गता भएका व्यक्तिहरुले आफूहरुलाई छुट्टै भवनको माग गरेका छन् । आफ्नो समूह भेला हुने, अनुभव आदान प्रदान गर्ने, विभिन्न तालिम प्रदान गर्नका लागि भवन आवश्यक भएको अपाङ्गता भएका व्यक्तिहरुको समूह उर्लाबारीका अध्यक्ष व्यासकुमार लिम्बूले बताए । छलफलमा बोल्ने बक्ताहरुले अपाङ्गता भएकाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बन्न सहयोग गर्नुपर्ने बताए । नगर प्रमुख गंगाप्रसाद खरेलले सबैको भावनालाई समेटेर नीति, कार्यक्रम तथा बजेट निर्माण गर्ने बताए ।



