
विराटनगर, २२ जेठ
वातावरण नराम्ररी बिग्रदै गएकाले अब पनि वातावरण संरक्षणमा नलागे गम्भीर वातावरणीय संकट आउनेतर्फ वातावरणविद्ले सचेत गराएका छन् । सप्तकोशी एफएमको कार्यक्रम सप्तकोशी बसहमा कुरा गर्दै वातावरणविद् रामचन्द्र अधिकारीले अझै पनि वातावरण संरक्षणमा नलागे गम्भीर संकट सामना गर्न तयार हुनुपर्ने बताए । उनले पिउने पानी, खानेकुरा, फेर्ने स्वास र रहने ठाउँ सबै प्रदुषित बन्दै गएको बताए ।
औषधी र पैसाका भरमा मात्र मानव जीवन बचेको उनको भनाई छ । उनले अझै वातावरण बिग्रँदै जाने हो भने नेपाल चिसो मरुभूमि बन्ने चेतावनी दिए । वातावरण संरक्षणमा नजुटे हिमालमा हिउँ सुकेर कालापत्थर बन्ने, सुख्खा पहिरो जाने, तराईका गाउँ बस्ती बाढीले पुरिने उनको चेतावनी छ । हामीले स्वास फेर्ने हावा विराटनगरमा जति स्वच्छ हुनुपर्ने हो त्यसको पाँच गुणा खराव रहेको उनले जानकारी गराए । इकोलोजी तथा वातावरण विज्ञान बिषयका उपप्राध्यापक अधिकारीले वायुप्रदुषणका कारण मुटु र क्यान्सर रोगका बिरामी बढ्दै गएको बताए ।
बढ्दो हृदयघात पनि वायुप्रदुषणका कारण भएको अधिकारीले जानकारी दिए । उनले बिग्रँदो वातावरणका कारण पछिल्लो सय वर्षमा विश्वमा भएका ८० प्रतिशत जीवजन्तु लोप भएर गएको दृष्टान्त सुनाए । निकट भविष्यमै १० लाख प्रजातिका जीवजन्तु लोप हुन लागेको खतरा औल्याए । विश्व वातावरण दिवसको अवसर पारेर ब्यक्ति, स्थानीय, प्रदेश र केन्द्र सरकार गम्भीर हुनुपर्नेमा उनको जोड छ । उनले ब्यक्ति र स्थानीय सरकारले वातावरण संरक्षणका लागि गर्नुपर्ने कार्यका बारेमा सुझाव दिए ।
वातावरण संरक्षणमा ब्यक्तिले गर्न सक्ने कार्य
१. नुहाउँदा कम पानी प्रयोग गरौँ । पुरुषलाई २० लिटर र महिलालाई ४० लिटरले नुहाउन पुग्छ ।
२. घरमा कम फोहोर उत्पादन गरौँ । सड्ने र नसड्ने फोहोर छुट्टाछुट्टै राखौँ ।
३. वातावरण प्रदुषित गराउने एक प्रमुख चिज बिजुलीको वल्व हो । लामो समय टिक्ने खाले बिजुलीको वल्व प्रयोग गरौँ ।
४. घर परिसरमा कम्तिमा तीन बिरुवा रोपौँ । परिसरमा ठाउँ नभए बाटो छेउमा रोपौँ । त्यहाँ पनि नभए जहाँ खाली छ त्यहाँ रोपौँ ।
५. केमिकल कम मात्र प्रयोग गरौँ ।




स्थानीय सरकारले वातावरण संरक्षणमा गर्न सक्ने कार्य
१. पहिला आफू सचेत बनौँ । नगरका सबै वडाहरुमा सचेतना कार्यक्रम सञ्चालन गरौँ ।
२. वातावरण एक प्रमुख मुद्दा भएकाले यसलाई प्राथमिकतामा राखौं । योजना बनाएर कार्यान्वयन गरौँ । बजेटमा प्राथमिकता दिऔं ।
३. खाली ठाउँमा पोखरी खनौँ । सीमसार क्षेत्रको संरक्षण गरौं ।
४. ब्यापक वृक्षरोपण गरौं । रोप्ने मात्र होइन संरक्षण पनि गरौं ।
५. खुल्ला ठाउँमा फोहोर फाल्ने डम्पिङ्ग साइड होइन बरु दुई तीन पालिका मिलेर फोहोर प्रशोधन केन्द्र ल्याण्डफिल्ड साइड निर्माण गरौँ । फोहोरबाट ग्याँस, बिजुली र कम्पोष्ट मल बनाउन सकिन्छ ।