
उर्लाबारी, २० जेठ
गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनबाट निर्वाचित उर्लाबारी नगरपालिका कार्यपालिकाको पहिलो बैठक आज बसेको छ । नगर प्रमुख गंगाप्रसाद खरेलको अध्यक्षतामा बसेको बैठकले नगर कार्यपालिकाको प्रवक्ताको रुपमा उर्लाबारी वडा नं. ३ का अध्यक्ष भिष्मराज बुढाथोकीलाई जिम्मेवारी दिने निर्णय गरेको छ ।
यस्तै, कार्यपालिका बैठकले वडा नं. ३ को सामाजिक सुरक्षा भत्ता मंगलबारेको प्राइम कमर्सिलय बैँकबाटै वितरण गर्ने निर्णय गरेको छ । यस्तै चालु आर्थिक वर्षमा वार्षिक विकाश कार्यक्रम अन्र्तगत बिपन्न नागरिकलाई धारा जडान, महशुल र पाइप खरिद समेतमा बिनियोजित ४० लाख बजेटलाई खण्डिकरण गरी खानेपानी धारा जडान र महसुल व्यवस्थापनका लागि १५ लाख र खानेपानी पाईप खदिरका लागि रु २५ लाख बजेट खर्च गर्ने निर्णय गरेको प्रवक्ता बुढाथोकीले जानकारी दिए ।
बैठकले बिभिन्न विषयगत समिति समेत गठन गरेको छ । सामाजिक विकास समितिमा कृष्णबहादुर बर्देवा, पूर्वाधार विकास समितिमा कुलबहादुर कार्की, आर्थिक विकास समितिमा रविन लामा, सुशासन तथा संस्थागत विकास समितिमा तिलक पाण्डे, राजश्व परामर्श समितिमा मीनाकुमारी खतिवडा, स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समितिमा गंगाप्रसाद खरेल, बजेट तथा कार्यक्रम तर्जुमा समितिमा मीनाकुमारी खतिवडा, कानुन तर्जुमा मस्यौदा समितिमा गंगाप्रसाद खरेललाई संयोजक तोकिएको छ ।
बैठकले आगामी नगरसभाबाट अनुमोदन हुने गरी विपद व्यवस्थापन कोष र मर्मत सम्भार कोषमा ५०÷५० लाख रुपैयाँ थप गर्ने निर्णय गरेको छ । यस्तै, कार्यपालिका बैठकमा स्थानीय तह निर्वाचन २०७९ मा आफ्नो मताधिकार प्रयोग गरी अमूल्य मत प्रदान गर्ने सबै उर्लाबारीबासी, मतदानमा सहयोग गर्ने कर्मचारी, सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन गरिएको साथै पाँच वर्षे कार्यकालमा सेवा प्रदान गर्ने उर्लाबारी नगरपालिकाका सबै पूर्व पदाधिकारीलाई सम्मान प्रकट गर्दै कृतज्ञता व्यक्त गरिएको प्रवक्ता भीष्मराज बुढाथोकीले बताए ।