About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

काठमाडौं, ३० असार
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा संविधानको अन्तिम विकल्पबाट प्रधानमन्त्री नियुक्त भएका छन् । मंगलबार साँझ सपथग्रहण गरेसँगै अब देउवाका दुई विकल्पका विषयमा चर्चा सुरु भएको छ ।
प्रधानमन्त्री देउवाले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनु पर्छ । विश्वासको मत प्राप्त गर्न सके झण्डै डेढ वर्षसम्म उनले सरकारको नेतृत्व गर्नेछन् । तर, विश्वासको मत प्राप्त गर्न नसके नयाँ जनादेशका लागि ६ महिनाभित्र आम निर्वाचन गराउनुपर्ने हुन्छ ।
३० दिनभित्र विश्वासको मत लिने चुनौतीका साथ प्रधानमन्त्री बनेका देउवाले माओवादी केन्द्रका दुई र काँग्रेसका दुई गरी चार जना मन्त्री सम्मिलित पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन् । विश्वासको मत प्राप्त गर्न नसके संवैधानिक व्यवस्थाअनुसार प्रतिनिधि सभा विघटन भई छ महिनाभित्र नयाँ निर्वाचन गर्नुपर्ने हुन्छ । मुख्य चुनौती सामना गर्न देउवाले आफ्नो गठबन्धनलाई टिकाइराख्नु पर्ने हुन्छ । तर, नेकपा एमालेको माधव नेपाल समूहले गठबन्धनबाट अगल हुने निर्णय गरेसँगै देउवा अप्ठेरोमा परेका छन् ।
संसदमा विश्वासको मतका लागि १ सय ३६ सांसद आवश्यक पर्छ । नेपाली काँग्रेसका ६१, माओवादी केन्द्रका ४९, जसपा उपेन्द्र यादव समूहका १२ र राष्ट्रिय जनमोर्चाका १ गरी १२३ सांसदले देउवालाई समर्थन गरेका छन् । विश्वासको मत पाउन अझै १३ सांसद आवश्यक पर्छ । जसपाको महन्थ ठाकुर पक्षका २० सांसदले केपी ओलीलाई सघाउँदै आएका छन् । देउवाले विश्वासको मत लिन ठाकुर समूह वा एमालेको माधव नेपाल समूहलाई आफ्नो पक्षमा लिनुपर्छ । जसपाको ठाकुर समूह र एमालेको नेपाल समूहले कस्तो भूमिका निर्वाह गर्छ त्यसैमा देउवा सरकारको आयु निर्धारण हुने प्रष्ट छ । १ सय २१ सांसद संख्या रहेको एमाले र २० सांसद रहेका जसपाको ठाकुर समूह विपक्षमा बसे देउवालाई विश्वासको मत लिन समस्या पर्छ । यस्तो अवस्थामा राष्ट्रिय सहमति गरेर निर्वाचनमा जाने सम्भावना पनि उत्तिकै छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय