
उर्लाबारी, १६ जेठ
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन, नेपाल (प्याब्सन) नगर समिति उर्लाबारीले नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा सम्मान गरेको छ । आज एक कार्यक्रम गरी उर्लाबारी नगरपालिकाका नगर प्रमुख गंगाप्रसाद खरेल, उपप्रमुख मीना खतिवडा पौडेल, ९ वटै वडाका वडाध्यक्षलाई बधाई ज्ञापन गरेको हो ।
कार्यक्रममा प्याव्सनका पूर्व केन्द्रीय सदस्य लेखनाथ भट्टराईले नगरपालिका समक्ष निजी विद्यालयका अपेक्षाहरुको बारेमा जानकारी गराएका थिए । नगरपालिकाले शिक्षा सम्बन्धी हर गतिविधिमा निजी विद्यालयलाई समेट्नु पर्ने उनले बताए । गुणस्तरीय शिक्षा, रोजगारी सिर्जना, सामाजिक क्षेत्रमा निजी विद्यालयको योगदान महत्वपूर्ण रहेको बताउँदै उनले नगरपालिका समक्ष निजी विद्यालयले गरेका अपेक्षा पूरा गर्न माग गरे । प्याव्सनले नगरपालिकासँग सुमधुर सम्बन्ध राख्न चाहेको बताउँदै उनले विभिन्न तालिम, गोष्ठी, सेमिनारमा निजी विद्यालयलाई सहभागी गराउनु पर्ने उनको भनाई थियो । नगरपालिकाले लिने शिक्षा सम्बन्धी निर्णय, सर्वपक्षीय भेलामा प्याव्सनलाई सहभागी गराउनु पर्नेलगायतका माग उनले राखे ।
सो अवसरमा नगर प्रमुख गंगाप्रसाद खरेलले सबैको राय, सल्लाह र सुझाव अनुसार आफूहरु अघि बढ्ने बताए । प्याव्सनले राखेका मागहरुका बारेमा उनले कतिसम्म पूरा गर्न सकिन्छ, छलफलबाट निर्णयमा पुगिने बताए । उपप्रमुख मीना खतिवडा पौडेलले निजी विद्यालयका समस्यामा बारेमा आफूले नजिकबाट नियालेको बताउँदै समाधानमा पहलकदमी लिने बताइन् । वडा नं. ६ का वडाध्यक्ष चिन्तामणि पौडेलले शैक्षिक विकासमा निजी विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए ।
प्याव्सन नगर कमिटी अध्यक्ष दिनेश पोख्रेलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला उपाध्यक्ष सुरेन्द्र सुवेदीले स्वागत मन्तव्य राखेका थिए भने नगर सदस्य यादप भण्डारीले सञ्चालन गरेका थिए ।



