
उर्लाबारी, १३ जेठ
मोरङको उर्लाबारी–५ स्थित अरनिको हस्पिटलको ८ औं वार्षिकोत्सवको अवसरमा उपचारमा छुटैछुटको व्यवस्था गरेको छ । वार्षिकोत्सवको दिन यही जेठ १५ गतेका दिन विशेषज्ञ चिकित्सकको निःशुल्क ओपीडी सेवा, असहाय, अपाङ्गता भएका बिरामीहरुको निःशुल्क ल्याव परीक्षणको व्यवस्था गरिएको छ ।
आज आयोजित पत्रकार सम्मेलनमा हस्पिटलका अध्यक्ष लोलिम पोमू लिम्बूले उक्त दिन निःशुल्क चेकजाँचका साथै अन्य विभिन्न सेवामा छुटको व्यवस्था गरिएको बताए । वार्षिकोत्सवको दिन ल्याव र होलबडी चेकजाँचमा २५ प्रतिशत, मुटु सम्बन्धी जाँच इको सेवामा ५० प्रतिशत, औषधीमा १० प्रतिशत छुटको व्यवस्था गरिएको अध्यक्ष लिम्बूले बताए । उनका अनुसार उक्त दिन भर्ना भएका बिरामीहरुलाई निःशुल्क बेडको व्यवस्था गरिएको छ ।
वार्षिकोत्सवकै अवसरमा हस्पिटलले जेठ १५ गते बिहान रक्तदान कार्यक्रमको आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखाको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हस्पिटलका सचिव रन्जित पोमूले बताए । ८ वर्षअघि स्थापना भएको अरनिको हस्पिटलले दिनानुदिन सेवा थप गर्दै आएको छ । अहिले यहाँ पूर्वीउत्तरी मोरङ, पश्चिम झापाका साथै इलाम, पाँचथर, धनकुटाका विभिन्न क्षेत्रका विरामी उपचारका लागि आउने गरेका छन् । सुपथ शुल्कमा भरपर्दो स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालका अध्यक्ष लोलिम पोमू बताउँछन् ।
हस्पिटलमा दैनिक विशेषज्ञ चिकित्सकबाट ओपीडी सेवा, २४ सै घण्टा आकस्मिक सेवा, ईसीजी, डिजिटल एक्सरे, प्याथोलोजी, हाडजोर्नी र जनरल सर्जरी सम्बन्धी शल्यक्रिया, फार्मेसी सेवा सञ्चालनमा छन् । यस्तै, दैनिक इन्डोस्कोपी, इको, फिजियोथेरापी, भिडियो एक्स रे, शल्यक्रिया सेवा सञ्चालित रहेको हस्पिटलका बरिष्ठ फिजिसियन डा. सम्पन्न बुढाथोकीले बताए । यस्तै, नेपाल सरकारको आमा सुरक्षा कार्यक्रम अन्तर्गत निःशुल्क डेलिभरी सेवा, प्रसुति तथा स्त्रीरोग सम्बन्धी सम्पूर्ण उपचारको व्यवस्था गरिएको छ ।
सामाजिक उत्तरदायित्व अन्तर्गत अरनिको हस्पिटलले विभिन्न शीर्षकमा छुट तथा निःशुल्क सेवा दिँदै आएको छ । ७० वर्षभन्दा माथिका ज्येष्ठ नागरिक तथा अशक्त, असहाय, अपाङ्गता भएकालाई विशेष प्राथमिकता र छुटको व्यवस्था, नेपाल सरकारको सहकार्यमार्फत ९ हप्तासम्मको गर्भपतन सेवा, नेपाल सरकार स्वास्थ्य बिमा बोर्ड र अरनिको हस्पिटलको सहकार्यमा निःशुल्क स्वास्थ्य बिमा कार्यक्रम, ब्लडसुगर सम्बन्धी निःशुल्क सुगर जाँच कार्ड मार्फत सुगर जाँच सेवा, पाठेघरको मुखमा हुने क्यान्सर सम्बन्धी भिआइए प्रत्येक हप्ताको आइतबार, मंगलबार र बिहिबार निःशुल्क जाँचको व्यवस्था गरिएको अध्यक्ष लोलिम पोमू लिम्बूले बताए ।



