
उर्लाबारी, १३ जेठ
मोरङको उर्लाबारीमा महिला र दलित वा अल्पसंख्यक कार्यपालिका सदस्यको लागि आगामी जेठ १८ गते निर्वाचन हुने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको निर्वाचन कार्यक्रम अनुसार उक्त निर्वाचनका लागि जेठ १४ गते उम्मेद्वारको मनोनयन पत्र दर्ता गर्ने जनाइएको छ ।
जेठ १४ गते दिनको १० देखि ५ बजेसम्म उम्मेद्वारी दर्ताको समय तोकिएका छ भने जेठ १८ गते १० देखि २ बजेसम्म मतदानको समय तोकिएको छ । उर्लाबारी नगरपालिकामा गत वैशाख ३० गतेको निर्वाचनबाट निर्वाचित महिला तथा दलित महिला सदस्य मध्येबाट पाँच जना कार्यपालिका सदस्यमा निर्वाचित हुनेछन् । यस्तै, दलित वा अल्पसंख्यकबाट ३ जना निर्वाचित हुनेछन् ।
उर्लाबारीमा नेकपा एमालेको बहुमत रहेको हुँदा कार्यपालिकामा एमालेकै उम्मेद्वार विजयी हुने देखिन्छ । वैशाख ३० को निर्वाचनबाट निर्वाचित ४७ जना जनप्रतिनिधिमध्ये मेयर, उपमेयरसहित २७ जना नेकपा एमालेका छन् भने २० जना नेपाली काँग्रेसका छन् । कार्यपालिकाको निर्वाचनमा यिनै ४७ जनाले मतदान गर्ने भएको हुँदा एमालेका उम्मेद्वार विजयी हुने देखिएको हो ।



