
उर्लाबारी, ४ जेठ
मोरङको उर्लाबारी नगरपालिकाको मत गणना अन्तिम चरणमा पुगेको छ । छ वटा वडाको मत गणना सकेर अहिले वडा नं. ७, ८ र ९ को गणना भइरहेको छ । जम्मा खसेको २९ हजार ४६७ मध्ये आज साँझ ८ बजेसम्म २४ हजार ६५६ मत गणना भएको छ । अब ४८११ मत गन्न बाँकी रहेको छ । यही रफ्तारमा मत गणना हुने हो भने भोलि दिउँसोसम्ममा नतिजा सार्वजनिक हुने आंकलन गर्न सकिन्छ ।
हालसम्मको मत परिणाम अनुसार मेयरमा नेकपा एमालेका गंगाप्रसाद खरेल १७५४ मतान्तरले अघि देखिएका छन् । खरेलले १०१३५ मत प्राप्त गरेका छन् भने काँग्रेसका खड्ग फागोले ८३८१ मत ल्याएका छन् । मेयरमै नेकपा एकीकृत समाजवादीका मानबहादुर श्रेष्ठले १८३१, राप्रपाका विनोद पोख्रेलले ८७५, मंगोल नेशनल अर्गनाइजेसनका मोहनबहादुर राईले ३७०, मौलिक जरोकिलो पार्टीका विज्ञान आचार्यले २५ र स्वतन्त्र उम्मेद्वार युवराज न्यौपानेले ३० मत पाएका छन् ।
यस्तै, उपमेयरमा नेकपा एमालेकी मीना खतिवडा पौडेल २५८ मतान्तरले अगाडि रहेकी छिन् । उनले ८९६६ मत प्राप्त गर्दा काँग्रेसकी सीता कार्की ८७०८ मतका साथ पछ्याइरहेकी छिन् । उपमेयरमा नेकपा माओवादी केन्द्रकी टिका भट्टराईले १२६९, राप्रपाकी निरुपा खड्काले ११२९, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी दिलकुमारी लावतीले ३६०, मंगोल नेशनल अर्गनाइजेशनकी विष्णुमाया तामाङले ४७६, मौलिक जरोकिलो पार्टीकी चन्द्रीका भट्टराईले २० र स्वतन्त्र उम्मेद्वार मुक्ति न्यौपानेले २६० मत प्राप्त गरेका छन् ।
उर्लाबारीका वडा नं. १,३, ५ मा नेकपा एमाले र वडा नं. २, ४, ६ मा नेपाली काँग्रेसले वडाध्यक्ष जितेको छ । अहिले गणना भइरहेको वडा नं. ७, ८ मा नेकपा एमाले र वडा नं. ९ मा नेपाली काँग्रेसले अग्रता कायम गरेको छ ।



