
उर्लाबारी ४ मा तीन दलीय गठबन्धनबाट वडाध्यक्षको उम्मेद्वार रहेका मिलन दाहाल यस पटक चुनाव जित्ने आधार खडा भएको बताउँछन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टी नेपालको गठबन्धनबाट वडाध्यक्षको उम्मेद्वार बनेका दाहाल नेकपा माओवादी केन्द्रका वडा कमिटी अध्यक्ष समेत हुन् ।
२०७४ सालको स्थानीय निर्वाचनमा पराजित भएपनि यो पाँच वर्ष आफू वडाबासीकै सेवामा लागेको बताउने दाहाल यस पटक चुनाव जित्ने बताउँछन् । भन्छन्, ‘गत निर्वाचनमा म हारेँ तर पनि जनतासँगै छु । उनीहरुको सुखदुःखमा सहभागी भएको छु ।’
आफूहरुले घरदैलो गरिरहँदा वडाबासीमा पनि उत्साह देखिएको दाहालले बताए । युवा नेता मिलन दाहाल नेतृत्वको जोसिलो टिम घरघर आउँदा वडाबासीहरू प्रफुल्ल देखिएको स्थानीय दिपक बास्तोला बताउँछन् । घरदैलो गरिरहँदा उम्मेदवारहरुलाई मतदाताहरुले अहिलेको वडा नेतृत्वले वडाभित्र खासै विकासका कामहरू नगरेको भन्दै गुनासो पोखेको दाहालले बताए । वडाको विकासका लागि आफूहरुलाई एक पटक जिताएर पठाउन आग्रह समेत उम्मेद्वारले गरेका छन् । युवा जोश, अग्रजको सल्लाह अनुसार र वडा नम्बर ४ वासीको आवश्यकता र मागलाई सम्बोधन गरेर अगाडि बढ्ने आफ्नो प्रतिबद्धता रहेको उनले बताए ।



