उर्लाबारी, २७ बैशाख
नेकपा एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीले आज मुख्य चौकमा चुनावी सभा गरेको छ ।
आज रातीदेखी मौन अवधि सुरु हुने भएपछि एमालेले दिउँसो सभा गरेको छ । सभाअघि उर्लाबारीका ३ ठाउँबाट र्याली निस्किएको थियो । हाटखोला चोक, बरगाछी र स्कुलडाँडाबाट एमालेको र्याली चोकमा सभामा आएर परिणत भएको थियो । सभालाई सम्बोधन गर्दै एमाले स्थायी कमिटी सदस्य लालबाबु पण्डितले उर्लाबारीमा एमालेको जित निश्चित रहेको भन्दै यहाँको विकाशका लागि सुर्यमा मत दिन आग्रह गर्नुभयो । एमालेका जनप्रतिनिधि शासक हैन जनताको सेवक बन्न जाने भन्दै उर्लाबारीका सबै वडाको विकाश एमालेले मात्र गर्न सक्ने दाबी गर्नुभयो । यस्तै एमाले केन्द्रीय सदस्य जिवन घिमिरेले उर्लाबारीको समग्र विकाश र परिवर्तनको नेतृत्व एमालेले मात्र गर्न सक्ने भएकाले सुर्यमा मतदान गरेर विजयी गराउन आह्वान गर्नुभयो । मोरङ क्षेत्र नं. १ का सांसद् घनश्याम खतिवडाले बालकदेखी बृद्धसम्मको रोजाई एमाले मात्र भएकाले यस पटक उर्लाबारीमा एमालेको जित सुनिश्चित भईसकेको उद्घोष गर्नुभयो । मेयर पदका उम्मेद्वार गंगाप्रसाद खरेलले चुनावी अभियानका क्रममा काँग्रेसले भ्रम छरेको भन्दै आफु निर्वाचित भएमा नगरबासीको हितमा सक्रियताका साथ काम गर्ने प्रतिबद्धता जनाउनुभयो । उर्लाबारीको पुर्वाधार विकाश, स्वास्थ्य, कृषि, पर्यटन, शिक्षा लगायतका समग्र विषयमा यहाँका सरोकारवालाहरुसँगको सल्लाह र छलफलको माध्यमबाटै सबैलाई समेटेर आफु अघि बढ्ने बताउनुभयो । उर्लाबारीबासी परिवर्तनको पक्षमा रहेको भन्दै खरेलले आफुलाई एमालेको मात्र होईन काँग्रेस, माओवादी, एकिकृत समाजवादी, राप्रपा, जसपा लगायतका दलका समर्थकको पनि मतदान गर्ने बताउनुभयो । सभामा उपमेयरको उम्मेद्वार मिना खतिवडा पौडेलले महिला अधिकार र नगरको सबै वडामा समृद्धि ल्याउन एमालेलाई जिताउन आह्वान गर्नुभयो । सभामा एमाले प्रदेश कमिटी सदस्य राजेन्द्र पौडेलले स्वागत मन्तव्य राख्दै बिगत ५ वर्षमा उर्लाबारीबासीले दुख पाउनु परेको भन्दै परिवर्तनका लागि एमालेलाई जिताउन आग्रह गर्नुभयो । सभा एमाले उर्लाबारी निर्वाचन परिचालन कमिटीका संयोजक भुपाल जिमीको अध्यक्षतामा सम्पन्न भएको थियो ।



