About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनतर्फ सबैको ध्यान मोडिएको छ । मोरङको उर्लाबारी वडा नं. १ मा २६ जना चुनावी मैदानमा छन् । वडाध्यक्षमा ५ जना, महिला सदस्य र दलित महिला सदस्यमा ५÷५ जना तथा खुला सदस्यमा ११ जना चुनावी मैदानमा छन् ।
यस पटक उर्लाबारी–१ को वडाध्यक्ष कस्ले जित्ने हो भन्ने कौतुहलको विषय बनेको छ । २०७४ को निर्वाचनमा नेकपा एमालेबाट उम्मेद्वार रहेका मचिन्द्रकुमार कार्की १२४७ मत प्राप्त गरी विजयी भएका थिए । उनका प्रतिद्वन्द्वी नेपाली काँग्रेसका गोविन्द भट्टराईले ७३४ मत ल्याएका थिए । यस पटक यी दुवै जना उम्मेद्वार चुनावी मैदानमा छन् । कार्की एमाले परित्याग गरी नेकपा एसमा छन् । गत निर्वाचनमा विजय हासिल गरेको एमालेले तिलक पाण्डेलाई उम्मेद्वार बनाएको छ । काँग्रेसबाट गोविन्द भट्टराई नै उम्मेद्वार बनेका छन् भने मचिन्द्रकुमार कार्की नेकपा एसबाट वडाध्यक्षको उम्मेद्वार छन् । राप्रपाले सीतादेवी कुरुवाङ र मंगोल नेशनल अर्गनाइजेशनले मणिकुमार तामाङलाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । विशेषगरी यो वडामा नेकपा एमाले, नेपाली काँग्रेस र तीन दलीय गठबन्धन गरेको नेकपा एसबीच प्रतिस्पर्धा हुने देखिएको छ ।
यो वडामा महिला सदस्यमा नेकपा एमालेबाट टीका भुजेल, नेपाली काँग्रेसबाट कञ्चन माझी, नेकपा माओवादीबाट जानुकादेवी भट्टराई, राप्रपाबाट गीता दनुवार र मंगोल नेशनल अर्गनाइजेसनबाट सुनिता लिम्बू उम्मेद्वार छन् । एमालेकी भुजेल यसअघिकी महिला सदस्य हुन् ।
यस्तै, दलित महिला सदस्यमा पाँच जना चुनावी दौडमा छन् । नेकपा एमालेबाट सन्तकुमारी विश्वकर्मा, नेपाली काँग्रेसबाट कृष्णकुमारी विश्वकर्मा, नेकपा माओवादी केन्द्रबाट यमकुमारी विश्वकर्मा, राप्रपाबाट बुनुकुमारी विश्वकर्मा र मंगोल नेशनल अर्गनाइजेसनबाट बुद्धिमाया विश्वकर्मा उम्मेद्वार छन् । २०७४ को निर्वाचनमा एमालेकी सन्तकुमारी विश्वकर्मा १३०२ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसकी कृष्णकुमारी विश्वकर्माले ६७५ मत ल्याएकी थिइन् । यी दुवै जना यस पटक पनि उम्मेद्वार छन् ।
दुई जना खुला सदस्यका लागि ११ जना उम्मेद्वार छन् । नेकपा एमालेबाट गणेशकुमार माझी र गौरीशंकर दाहाल, नेपाली काँग्रेसबाट छत्र कठायत र कुमार जबेगु लिम्बू, तीन दलीय गठबन्धन अन्तर्गत नेकपा एसबाट अर्जुन विश्वकर्मा र जसपा नेपालबाट सन्तबहादुर माझी, राप्रपाबाट धनबहादुर तामाङ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट बलबहादुर माखिम र शुक्रराज लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनबाट तिर्थकुमारी तामाङ र बालजित सुब्बा उम्मेद्वार बनेका छन् ।
उर्लाबारी–१ मा ५१७४ मतदाता रहेका छन् । यो वडाको शारदा माध्यमिक विद्यालय झारसाँदी केन्द्रमा २२३१, लक्ष्मी आधारभुत विद्यालय लक्ष्मीझार केन्द्रमा १९१३ र बालज्योति आधारभुत विद्यालय मेचेडाँगी केन्द्रमा १०३० जना मतदाता रहेका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय