About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २५ वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उर्लाबारीमा नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीले गठबन्धन गरेर साझा उम्मेद्वार तय गरेका छन् । तीन दलीय गठबन्धनका उम्मेद्वारलाई जिताउन लागेको जसपा वडा नं. २ मा भने मात्रिका धिमाललाई वडाध्यक्ष जिताउन कम्मर कसेर लागेको छ ।
मात्रिकाले धेरै अघिदेखि वडाध्यक्षको उम्मेद्वारी घोषणा गरेर मत मागेका हुन् । पछि तीन दलको गठबन्धनबाट साझा उम्मेद्वार भएपछि उनी थप हौसिएका छन् । यस पटक वडा नं. २ को वडाध्यक्ष जित्ने योजनाका साथ जसपाका नेता कार्यकर्ता सोही वडामा केन्द्रीत भएका छन् । स्पष्टवक्ता, सालिन, इमान्दार मात्रिकाको सो वडामा छुट्टै प्रभाव छ । अझ गठबन्धनबाट उम्मेद्वार बनेपछि चुनावी अभियानले नयाँ मोड लिएको जसपाका प्रदेश १ सदस्य विशाल आङ्देम्बे बताउँछन् ।
२०४४ सालमा अम्बरबहादुर धिमाल र चित्रमाया धिमालको कोखबाट उर्लाबारी–२ भुसीमा जन्मिएका मात्रिका धिमाल हाल जसपा उर्लाबारी नगर अध्यक्ष छन् । राजनीति, समाजसेवा र पेसा व्यवसायमा सक्रिय उनी जसपा नेपाल लिम्बुवान राष्ट्रिय समितिका सचिवालय सदस्य समेत हुन् । धिमाल जातीय विकास केन्द्रको केन्द्रीय महासचिव मात्रिका साविक उर्लाबारी वडा नं. ९ को वडा नागरिक मञ्चको अध्यक्ष समेत भइसकेका छन् ।
जुनसुकै संस्थामा रहँदा पनि इमान्दारितापूर्वक आफ्नो जिम्मेवारी पूरा गर्ने मात्रिकाले वडाध्यक्ष भएर गर्ने कार्यको प्रतिबद्धता समेत मतदातामाझ व्यक्त गरेका छन् । वडाको पूर्वाधार, शिक्षा, स्वास्थ्य, वन वातावरण, कृषि, साँस्कृतिक विकासको क्षेत्रमा आफ्नो महत्वपूर्ण भूमिका रहने उनले बताए । घरदैलोका क्रममा वडाबासीले देखाउनुभएको सद्भावले आफूलाई हौसला मिलेको धिमालले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय