About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, २४ वैशाख
२०७४ मा निर्वाचित उर्लाबारी नगरपालिकाका ५० जनप्रतिनिधि मध्ये २९ जना यस पटक पनि चुनावी मैदानमा छन् । यी मध्ये अधिकांश सोही पदमा उम्मेद्वार बनेका छन् भने कोही माथिल्लो पद, कोही पार्टी परिवर्तन गरेर तथा कोही पार्टीबाट टिकट नपाएपछि स्वतन्त्र उम्मेद्वार बनेका छन् ।
निवर्तमान नगर प्रमुख खड्ग फागो, ७ जना वडाध्यक्ष, ८ जना महिला सदस्य, ५ जना दलित महिला सदस्य र २ जना वडा सदस्य सोही पदमा दोहोरिन चाहेका छन् । ६ जना वडा सदस्य भने वडाध्यक्षको उम्मेद्वार बनेका छन् । मेयरमा नेपाली काँग्रेसका खड्ग फागो पुनः चुनावी मैदानमा छन् । उपमेयर लक्ष्मीदेवी भण्डारीले नेकपा एमालेबाट मेयरमा आकांक्षा राखेपनि पार्टीले गंगाप्रसाद खरेललाई उम्मेद्वार बनायो ।
उर्लाबारीका ९ वडामध्ये २०७४ को स्थानीय तहमा निर्वाचित ७ जना वडाध्यक्ष अहिले पनि चुनावी मैदानमा छन् । त्यसबेला नेकपा एमालेबाट वडा नं. १ मा विजयी भएका मचिन्द्रकुमार कार्की अहिले नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वार बनेका छन् । नेपाली काँग्रेसबाट निर्वाचित वडा नं. २ का राजन कँडेल, वडा नं. ३ का गन्जबहादुर कार्की, वडा नं. ६ का चिन्तामणि पौडेल र वडा नं. ७ का वीरबल थापा तथा नेकपा एमालेबाट निर्वाचित वडा नं. ४ का लक्ष्मीनारायण धिमाल र वडा नं. ८ का कुलबहादुर कार्की यस पटक पनि वडाध्यक्षको उम्मेद्वार बनेका छन् । वडा नं. ५ र वडा नं. ९ का वडाध्यक्ष क्रमशः भानुभक्त शर्मा पराजुली र बमबहादुर फ्याक यस पटक उम्मेद्वार बनेनन् । पराजुली नेपाली काँग्रेस र फ्याक नेकपा एमालेबाट निर्वाचित भएका थिए ।
वडा नं. ९ की महिला सदस्य हुकुमाया श्रेष्ठ बाहेक ८ जना महिला सदस्य पुनः सोही पदमा उम्मेद्वार बनेका छन् । नेकपा एमालेबाट निर्वाचित वडा नं. १ की टिका भुजेल, वडा नं. ४ की कृष्णमाया कडरिया र वडा नं. ८ की चन्द्रा डाँगी, नेपाली काँग्रेसबाट निर्वाचित वडा नं. २ की बानु सुब्बा, वडा नं. ३ की तुलसादेवी घिमिरे, वडा नं. ५ की देवीकला राई, वडा नं. ६ की दुर्गावती सुब्बा र वडा नं. ७ की शोभितमाया तामाङ फेरि सोही पदमा दोहोरिन चुनावी दौडमा छन् । यस्तै, पाँच जना दलित महिला सदस्य सोही पदमा उठेका छन् । नेकपा एमालेबाट निर्वाचित वडा नं. १ की सन्तकुमारी विश्वकर्मा, वडा नं. ४ की अमृता नेपाली, वडा नं. ९ की पूर्णमाया परियार, नेपाली काँग्रेसबाट निर्वाचित वडा नं. ५ की रामकुमारी विक र वडा नं. ७ की सदस्य मञ्जु परियार दलित महिला सदस्य पदमै उम्मेद्वार बनेका छन् ।
उता, खुला वडा सदस्य १८ जनामध्ये दुई जना मात्र सोही पदमा उम्मेद्वार बनेका छन् । नेकपा एमालेबाट वडा नं. २ को वडा सदस्यमा निर्वाचित गोविन्दप्रसाद चौलागाई यस पटक नेपाली काँग्रेसबाट सोही पदमा उम्मेद्वार बनेका छन् । यस्तै, नेपाली काँग्रेसबाटै वडा नं. ३ मा वडा सदस्य निर्वाचित सोमप्रसाद तिम्सिना वडा सदस्यमै चुनावी मैदानमा छन् ।
गत निर्वाचनमा वडा सदस्य जितको अधिकांशले वडाध्यक्षका लागि दाबेदारी प्रस्तुत गरेपनि नेकपा एमाले र काँग्रेसले दुई दुई जनालाई वडाध्यक्षको उम्मेद्वार बनाएको छ । एमालेले वडा नं. ३ का वडा सदस्य भीष्मराज बुढाथोकी र वडा नं. ५ का वडा सदस्य रविन लामा, नेपाली काँग्रेसले वडा नं. ४ का वडा सदस्य कल्याणकुमार राई र वडा नं. ५ का वडा सदस्य तुलबहादुर थापालाई वडाध्यक्षको उम्मेद्वार बनाएका छन् । पार्टीले टिकट नदिएपछि वडा नं. ७ का वडा सदस्य छत्रबहादुर कार्की र वडा नं. ८ का वडा सदस्य अग्निप्रसाद लिम्बू वडाध्यक्षको बागी उम्मेद्वार बनेका छन् । कार्की नेपाली काँग्रेस र लिम्बू नेकपा एमालेका हुन् । उनीहरु दुवै जनालाई सम्बन्धित पार्टीले कारबाही गरिसकेको छ ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय