About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १९ वैशाख
घनश्याम भण्डारी सिंगो उर्लाबारीबासीका लागि परिचित नाम हो । उनको चिनारीको आयाम फराकिलो छ । धार्मिक, साँस्कृतिक, सामाजिक, राजनीतिक, खेलकुद, पत्रकारिता धेरैैतिर योगदान पुर्याएका घनश्याम आशन्न स्थानीय तह निर्वाचनमा उर्लाबारी वडा नम्बर ६ का सशक्त उम्मेद्वार हुन् ।
नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार उनी चुनावी मैदानमा खरो उत्रिएका छन् । ‘हामी अत्यन्तै उत्साहित छौं । एमालेको पक्षमा अभूतपूर्व लहर आएको छ’ भण्डारीले भने, ‘प्राप्त सूचनाका आधारमा हामी ६० देखि ६५ प्रतिशत बढी मत ल्याएर वडा जित्दैछौ अघिल्लो कार्यकालमा वडाका जनप्रतिनिधिले जनताको अभिमतलाई आत्मसात गर्न नसक्नु नै आफ्नो जितको आधार भएको उनी सुनाउँछन् ।
विद्यालयस्तरबाटै कम्युनिष्ट आन्दोलनमा होमिएका भण्डारी उर्लाबारी बहुमुखी क्याम्पस स्ववियूका पूर्व सचिव हुन् । डा। शिवमाया तुम्बाहाम्फे मन्त्री छँदा स्वकीय सचिवको भूमिकामा रहेका उनले स्थानीय स्तरका महत्वपूर्ण संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरिसकेका छन् । सञ्चार क्लब नेपालको दुई कार्यकाल अध्यक्ष, युवा क्लब उर्लाबारीका अध्यक्ष भैसकेका भण्डारी उर्लाबारी फुटबल क्लब, उर्लाबारी जेसीज, रोटरी, भिजन पुस्तकालय, नमुना बालगृह, जीवन बचाउ उपचार सेवा केन्द्रलगायतका संघसस्थामा पनि जोडिएका छन् ।
स्व. भीमप्रसाद र इन्द्रकला भण्डारीका छोरा घनश्याम समाज रुपान्तरणका लागि अविचलित लागिपरेका छन् । उर्लाबारीका धुलो, धुँवा र माटोसँग रुमलिएका छन् । ६ नम्बर वडाका बाँधडाँडा होस् वा सीमानाबस्ती, तरुणचौक होस् वा पानीट्याँकी लाइन जताततै ‘घनश्याम क्रेज’ छचल्किएको छ । स्थानीय छवि श्रेष्ठ भन्छन् – कुनै एउटा पार्टीको उम्मेद्वार रहेपनि घनश्याम दाइ स्थानीयका लागि साझा व्यक्ति हुनुहुन्छ ।’
उर्लाबारीको सुदुर पूर्वमा अवस्थित ६ नम्बर वडा विकासका दृष्टिले अरु वडाभन्दा पछि परेको छ । सडक, ढल, सरसफाई, विद्युत, शैक्षिक क्षेत्र, खेलकुद र सुसाशनका सवालमा बिगतका जनप्रतिनिधिले काम गर्न नसकेको घनश्यामको ठम्याइँ छ । उनका अनुसार ब्यवस्थित सहरीकरण, प्रदुषण नियन्त्रण, शुक्रबारे बजार व्यवस्थापन, ढल निकास, सरसफाई सार्वजनिक शौचालयजस्ता विषयलाई प्राथमिकतामा राखिएको छ । उनी भन्छन् ‘जनताको माग र चाहना अनुसार मैले उम्मेदवारी दिएको हुँ । जनतामा मेरोप्रति ठूलो आकर्षण भएकोले चुनाव लडेको छु । मेरो चुनावी मुद्दा विकास, विकास, विकास हो ।’

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय