About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १८ वैशाख
यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सबै दलहरु आ–आफ्नो चुनावी प्रचारमा लागेका छन् । अहिले सबैलाई चुनाव लागेको छ । त्यही चुनाव लाग्ने मध्येका एक हुन्, उर्लाबारी–४ का ६५ वर्षीय लक्ष्मीनारायण धिमाल ।
नेकपा एमालेबाट वडाध्यक्षको उम्मेद्वार रहेका उनी पाँचौं पटक वडाध्यक्ष हुने लक्ष्यका साथ चुनावी अभियानमा छन् । वि.सं. २०४३ सालदेखि निरन्तर वडाध्यक्ष रहेका धिमाल अहिले मतदाताको घरदैलामा भोट माग्न व्यस्त छन् । यो वडामा उनलाई नचिन्ने कोही छैन । यही वडा पहिले उर्लाबारी वडा नं. १ थियो । २०४३ सालमा जनपक्षीय उम्मेद्वारका रुपमा विजयी भएका उनी २०४९ र २०५४ सालको स्थानीय निकायको निर्वाचनमा नेकपा एमालेको तर्फबाट विजयी भएका थिए । राज्यको पुनर्संरचनासँगै तत्कालीन उर्लाबारी वडा नं. १ र ५ मिलेर अहिले वडा नं. ४ बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा पनि उनी वडाध्यक्षमा निर्वाचित भए ।
२०१४ सालमा झापाको दमकमा जन्मिएका धिमाल २०३४ सालदेखि उर्लाबारीमा बसोबास गर्दै आएका छन् । साढे तीन दशक वडाको नेतृत्व गरेका धिमाल पुनः वडाध्यक्ष बनेर अघिल्ला कार्यकालमा पूरा गर्न नसकेका काम सक्न र नयाँ नयाँ काम सुरू गर्न पार्टीले जिम्मेवारी दिएको बताउँछन् । “पहिले वडामा कुनै अधिकार थिएन, बजेट आउँदैनथ्यो । गाविस कार्यालयबाटै परिचालन हुन्थ्यो । चाहेजस्तो विकास गर्न सक्ने अवस्थै थिएन” उनले भने, “२०७४ को स्थानीय तह निर्वाचनपछि भने अधिकार प्राप्त भए । विकासका कार्यमा धेरै फड्को मारेका छौं । अधुरा कार्यहरु पूरा गर्ने जिम्मेवारी पार्टीले दियो, इमान्दारिताका साथ पूरा गर्नेछु ।”
वडाध्यक्ष पदका उम्मेद्वार धिमालका सालिनता, इमान्दारिता, कर्तव्यनिष्ठताको प्रभाव वडावासीमा परेको छ, त्यही भएर बारम्बार अनुमोदित हुँदै आएका छन् । वडावासीको मत खेर जाने किमिसको कुनै कार्य नगर्ने भएकैले उनलाई मतदाताले पत्याउँदै आएका छन् ।
२०२८ देखि बामपन्थी विचारधारा लिएर हिँडेका उनले उर्लाबारीमा २०३५ सालदेखि पार्टीको विभिन्न भूमिकामा रहेर कार्य गरेका छन् । पञ्चायती व्यवस्था विरोधी अभियानमा भूमिगत रुपमा संगठन विस्तारमा उनको योगदान रहेका छ । अखिल नेपाल किसान संघको क्षेत्रीय सदस्य, नेकपा एमालेको वडा कमिटी, गाउँ कमिटी, क्षेत्रीय कमिटी हुदै जिल्ला कमिटी सदस्य भइसकेका धिमाल हाल एमालेको १ नं. प्रदेश कमिटी सल्लाहकार सदस्यको भूमिकामा छन् ।
राजनीति र समाजसेवामा सक्रिय उनी जिन्दगीका बाँकी समय यसै क्षेत्रमा समर्पित गर्न चाहन्छन् । “वडामा पारदर्शी रुपमा कार्य गरेका छौं” उनले भने, “वडाका विकास कार्यमा सबैलाई समेटिएको छ । जनताको निर्णयलाई सर्वोपरि ठानेका छौं ।” पहिले वडालाई कुनै अधिकार नभएपनि २०७४ पछि निकै अधिकार प्राप्त भएको, यो अवधिमा अधिकारको प्रयोग गरेर जनतालाई सेवा सुविधा प्रदान गर्न कुनै कन्जुस्याइँ नगरेको उनले बताए । आगामी दिनमा पनि वडावासीको आम भेलाले गरेको निर्णयलाई सर्वोपरि ठाने अघि बढ्ने उनको प्रतिबद्धता छ । सडक कालोपत्रे, ग्राभेल, कल्भर्ट निर्माण, खोला तटबन्धन, कृषि, शिक्षा, स्वास्थ्य, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता, भूमिहीनलगायतका क्षेत्रमा गर्नुपर्ने काम धेरै रहेको र आगामी कार्यकालमा त्यसलाई प्राथमिकताका आधारमा पूरा गर्दै जाने उनको प्रतिबद्धता छ ।
यो वडामा नेकपा एमालेले वडा सदस्यमा शेखरनाथ दाहाल र सुरेन्द्र न्यौपाने, महिला सदस्यमा कृष्णमाया कडरिया र दलित महिला सदस्यमा अमृता नेपालीलाई उम्मेद्वार बनाएको छ । क्षेत्रगत रुपमा समेटेर अनुभवी व्यक्तित्वहरुलाई वडा सदस्यमा उम्मेद्वार बनाएपछि यो वडामा नेकपा एमालेको माहोल एकाएक बढेर गएको छ । वडाका उम्मेद्वारहरुले घरदैलो कार्यक्रम जारी राखेका छन् । वैशाख १९ गते मेयरका उम्मेद्वार गंगाप्रसाद खरेल र उपमेयरकी उम्मेद्वार मीना खतिवडा पौडेलसहित टोल टोलमा भोट माग्ने कार्यक्रम तय भएको वडा सदस्य पदका उम्मेद्वार शेखरनाथ दाहालले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय