उर्लाबारी, १८ वैशाख
राजनीतिक दलको नगरका अध्यक्षले स्थानीय तह निर्वाचनमा पालिका प्रमुख, उपप्रमुख मध्ये एक पदमा उम्मेद्वार बन्ने चाहना राख्छन् । नभए, कतिपय वडाध्यक्षसम्म चित्त बुझाउँछन् । तर, उर्लाबारीमा एउटा पार्टीका नगर अध्यक्ष वडा सदस्यको उम्मेद्वार बनेका छन्, त्यो पनि कुनै करकापमा होइन, आफ्नै राजीखुसीले ।
राप्रपा उर्लाबारीका नगर अध्यक्ष देवीप्रसाद दाहाल उर्लाबारी–४ बाट वडा सदस्यको उम्मेद्वार बनेका छन् । उनले चाहेको भए मेयर, उपमेयर, वडाध्यक्षमा दाबी गरेर टिकट लिन सक्थे तर अरुको भावना र चाहनालाई कदर गर्दै आफू राजीखुसी वडा सदस्यको उम्मेद्वार बनेको बताउँछन् ।
‘जुनसुकै पद भएपनि जनप्रतिनिधि बनेर सेवा गर्ने हो’ उनले भने, ‘वडा सदस्यको उम्मेद्वार बनेको छु, वडावासीलाई मतदानका लागि अपिल गर्छु ।’ दाहाल राप्रपा उर्लाबारीको ११ वर्षदेखि अध्यक्ष छन् । तीन कार्यकाल भयो उनी अध्यक्ष रहेको । मिलनसार, स्पष्टवक्ता, सहयोगी भावनाका धनी उनी अहिले उर्लाबारी–४ का बासिन्दासँग आफ्ना एजेण्डा लिएर मत माग्न व्यस्त छन् । समग्र नगरको चुनावी गतिविधिको नेतृत्व पनि गर्नुपर्ने भएकोले आफ्नो सम्पूर्ण ध्यान वडामा लगाउन नसकेको उनले बताए ।



