उर्लाबारी, १८ वैशाख
नेपाली काँग्रेसबाट उर्लाबारी नगरपालिकाको मेयर पदका उम्मेद्वार खड्ग फागोले आफूले उर्लाबारीमा चन्दा आतंक निर्मूल पारेको बताएका छन् । उर्लाबारीका निवर्तमान मेयर समेत रहेका उनले आफू जीवित रहुन्जेलसम्म उर्लाबारीमा कसैले धम्कीपूर्वक चन्दा माग्छ भने आफूलाई सह्य नहुने बताए ।
आज काँग्रेस उर्लाबारी निर्वाचन परिचालन समितिको कार्यालयमा आयोजित कार्यक्रममा उनले सामाजिक सञ्जालमा आफूविरुद्ध गरिएका पोष्टले कुनै अर्थ नराख्ने बताए । ‘सबै कुरा जनताले बुझेका छन्’ उनले भने, ‘फेसबुकमा मेरा विरुद्ध अनर्गल प्रचार गरेर केही हुँदैन ।’
उनले आफू निर्वाचित भएपछि नगरलाई तिर्नुपर्ने कर अनलाइनबाटै लिने व्यवस्था मिलाउने बताए । उनले भने, ‘व्यापारी व्यवसायी तथा नगरवासीले घर, पसलमै बसेर कर तिर्ने व्यवस्था मिलाउने छु ।’
आफूलाई दादागिरी गरेको भन्ने कुराको खण्डन गर्दै उनले भने, ‘मैले दादागिरी गरेको होइन, दादागिरीलाई चाहिँ ठीक लगाएको छु ।’ नगर प्रमुख रहुञ्जल कसैलाई पनि गलत क्रियाकलाप गर्न नदिएको बताउँदै उनले अनर्गल प्रचारको पछि नलाग्न आग्रह गरे ।
ताजा समाचार
लोकप्रिय
© 2023, All right reserved to Nepali Portal
Made with ❤️ By Gorkhaly Labs