इटहरी,इटहरीमा नेकपा एमाले एकजुट भएको छ । सूर्यध्वजावाहक मेयर,उपमेयर लगायतका उम्मेदवारहरुलाई जिताउन एकजुट भएको हो । बुद्धिजीवी शाखा कमिटि तथा विभिन्न पेशागत संघ संगठनले आयोजना गरेको कार्यक्रमको मन्चमा उभिएर नगरमा प्रभाव राख्ने जिल्ला, प्रदेश तथा केन्द्रिय तहका नेताहरुले ऐक्यबद्धता व्यक्त गरेका हुन् । इटहरीमा रहेका एमालेका प्रभावशाली नेताहरुबिच तिक्तता रहेको हल्ला बाहिर आइरहँदा सबै नेताहरुले मन्चमार्फत् एकताको सन्देश दिएका छन् । एमाले स्थायी कमिटि सदस्य प्रदेश इन्र्चाज देवराज घिमिरेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले केन्द्रीय सदस्यहरु भगवति चौधरी,लक्ष्मी गौतम,तैयव हुसेनले चुनाव जीत्न दृढता पूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो । जिल्ला अध्यक्ष रेवती भण्डारीले द्धारिकलाल चौधरी र लक्ष्मी गौतमको नेतृत्वमा रहेको उपमहानगरले अत्यन्तै राम्रो काम गरेकाले वाँकी अबिभारा पूरा गर्न एमालेले जित्नुपर्ने वताउनुभयो । इटहरी उपमहानगरका मेयर द्धारिकलाल चौधरीले नेपाली काँग्रेस आउट डेटेड पार्टी भएको बताउँदै इटहरी जित्ने काँग्रेसको सपना अधुरै रहने दावी गर्नुभयो । चौधरीले नेपाली काँग्रेसको चक्रव्युह तोडेर एमालेलाई जिताउने बताउनुभयो । त्यसको लागि आफूले नेतृत्व लिनुपरे तयार रहेकोसमेत बताउनुभयो ।उहाँले भन्नुभयो ‘आपसी मतभेदहरुलाई चुनावपछि आत्मसमिक्षा गरौंला,’ उहाँले भन्नुभयो, ‘तर चुनावमा हाम्रा उम्मेदवारलाई जिताउन के के गर्नुपर्छ त्यतातिर लागौं ।’ कार्यक्रममा केन्द्रीय सदस्य अमृता सुब्बा,प्रदेशसांसदहरु सर्वध्वज साँवा र लिलम वस्नेत,प्रदेश सदस्य राम प्रसाद चौलागाँई,हिमाल सुवेदी लगायतका नेताहरु सहभागि हुनुहुन्थ्यो ।