उर्लाबारी, १७ वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको चुनावी प्रचार व्यापक बनिरहेका बेला नेकपा एमालेबाट उर्लाबारी–७ को वडाध्यक्ष पदकी उम्मेद्वार उर्मिला थापा भने पति शोकमा छिन् । पति वीरबहादुर थापाको बिहीबार निधन भएपछि उर्मिला अहिले किरियामा छिन् ।
आफ्ना एजेण्डा लिएर मतदाता माझ पुग्न नसकेपछि उनले सामाजिक सञ्जाल फेसबुकमा मार्मिक स्टाटस र फोटो पोष्ट गरेकी छिन् । यस्तो छ उनले लेखेको स्टाटसः
सम्पूर्ण उर्लाबारीबासी आमाबुवा, दाजुभाइ, दिदीबहिनीहरुमा अपिल
म उर्मिला थापा आसन्न निर्वाचनमा नेकपा एमाले उर्लाबारी वार्ड न ७ को वडाध्यक्षको उम्मेद्वार, आज मेरो जीवनमा ठूलो ब्रजपात परेको छ । मेरो जीवनको सहयात्री मेरो श्रीमानलाई आज यो निस्ठुरी दैबले मबाट छुटाएर ब्रह्मलिन गरायो । मलाई राजनीतिमा यहाँसम्म डोहो¥याउने र हिजोको दिनमा यहि उर्लाबारीमा २ कार्यकाल वडाध्यक्ष भई यहाँहरुको दुःख सुखमा साथ दिँदै आउनु भएको मेरो श्रीमान् आज तपाईं हाम्रो सामु हुनुहुन्न । समय परिस्थितिले आज मैले नगरबासी सामु आफूले अध्यक्षको उम्मेद्बारी दिइरहँदा आफ्ना भिजनहरु राख्न पाइरहेकी छुइन । म र मेरो परिवारमा पर्न गएको यो दुःखत घडीमा सहानुभुति दर्साइदिनु हुन हार्दिक अनुरोध गर्दछु । साथै हाम्रो नेकपा एमालेको टिमलाई अत्यधिक बहुमतले बिजय गराइ दिनु हुन विनम्र अनुरोध गर्दछु । लाल सलाम ।’