About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १७ वैशाख
नेकपा एमालेले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उर्लाबारी नगरपालिकामा उपमेयरमा मीना खतिवडा पौडेललाई उम्मेद्वार बनाएको छ । राजनीति र समाजसेवाको क्षेत्रमा लामो अनुभव संगालेकी पौडेल उपमेयरको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्न सक्ने क्षमता भएकी सशक्त महिला हुन् ।
वि.सं. २०३० सालमा साविक मधुमल्ला गाविस वडा नं. २ मा जन्मिएकी मीनाको पितामाता बासुदेव खतिवडा र मनमाया खतिवडा हुन् । पितामाताबाटै कम्युनिष्ट राजनीतिको आधारभुत शिक्षा प्राप्त गरेर अघि बढेकी उनले राजनीतिमा अहिलेसम्म पछि फर्केर हेर्नु परेको छैन । तत्कालीन राजघाट गाविस (हाल उर्लाबारी) निवासी सोमनाथ पौडेलसँग विवाह गरेकी मीनाका दुई छोरा पवन र मनोज छन् ।
२०४६ सालदेखि नेकपा एमालेमा सक्रिय भएकी उनी अहिले नेकपा एमाले जिल्ला कमिटी मोरङको सचिवालय सदस्य छिन् । अखिल नेपाल किसान महासंघको केन्द्रीय सदस्य तथा मोरङ जिल्ला इञ्चार्जको भूमिकामा रहेकी मीनाले यसअघि एमालेको राजघाट गाउँ कमिटीमा दुई कार्यकाल उपाध्यक्ष, एमाले उर्लाबारी नगर कमिटीको सहसंयोजक भएर काम गरेकी थिइन् ।
राजनीतिसँगै समाजसेवाको क्षेत्रमा पनि उनले उल्लेखनीय कार्य गरेकी छिन् । महिला सशक्तिकरण, उद्यमशीलता, आर्थिक रुपान्तरण, महिला हिंसा न्युनीकरणलगायतका विभिन्न अभियानमा उनी जोडिएकी छिन् । उनले कारितास नेपालबाट झापा, मोरङमा सूचना प्रवाह कोअर्डिनेटरको रुपमा कार्य समेत गरेकी थिइन् । विभिन्न महिला समूह, सामुदायिक विद्यालयमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेकी उनले महिला सशक्तिकरणमा जोड दिँदै आएकी छिन् ।
स्पष्टवक्ता, हँसिलो चेहरा, मिलनसार स्वभावका कारण मीनाको उपमेयरमा लोकप्रियता बढ्दै गएको छ । मतदाता माझ स्पष्टताका साथ आफ्ना विचार राख्ने उनको माहोलले कार्यकर्ता पंक्तिमा उत्साहित बनेका छन् । उपप्रमुखमा निर्वाचित भएपछि निर्वाह गर्नुपर्ने भूमिकाप्रति जानकार उनी जनतालाई कुराले झुक्याउने भन्दा पनि काम गरेर देखाउने बताउँछिन् । त्यसका लागि एक पटक आफूलाई मतदान गरी विजयी गराउन उनले सबै नगरवासीलाई आग्रह गरेकी छिन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय