About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

ज्योति शर्मा, उर्लाबारी
मोरङको उर्लाबारी किसान चौक– रमिते– रवी सडकखण्डको कालोपत्रे स्वीकृत नहुँदै भत्किए पछि स्थानीयवासी निराश भएका छन् । किसानचौक–रमिते–रवी सडकखण्डको कालोपत्रे गरेको १ महिना नपुग्दै गिट्टी सोहोरिन, भत्कन र खाल्डा पर्न थाले पछि स्थानीयवासीले चासो दिन थालेका छन् । गौरवको आयोजना अन्तर्गतको सुरुवात खण्ड किसानचौकमा गरिएको कालोपत्रे निर्माण कार्य सम्पन्न नहुँदै बिग्रिएपछि स्थानीयमा चिसो पलाएको छ ।
सो सडक खण्डको सुरुवात हुने पूर्व–पश्चिम राजमार्गसँग जोडिने किसान चौकमा गरिएको कालोपत्रे एक महिना नबित्दै बिग्रिन सुरु गरेको छ । नेपाल सरकारले सडक विभागबाट रतुवामाई नगरपालिकाको ढुण्डी कन्ट्रक्सनका ठेकेदार अशोक भट्टराईद्वारा १ करोड १७ लाखमा विलो रेटमा ठेक्का लिएको ७ सय मिटर सडक खण्डको कालोपत्रे १ महिना नपुग्दै गिट्टी सोहोेरिन, भत्कन र खाल्डा पर्न थालेपछि स्थानीयवासी निराश भएको स्थानीय चन्द्रकला गौतमले बताएकी छन् ।
गौरवको आयोजना अन्तर्गतको सो सडकको तत्कालीन प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालय मन्त्री इन्द्रबहादुर आङ्वोले करिब २ वर्ष अघि टाँडीमा कालोपत्रेको शिलान्यास गरेका थिए । किसान चौक–टाँडी हुँदै आइतबारेसम्मको सडक कालोपत्रे गर्न शर्मा भिमेश्वर जेभीले ५८ करोड ५६ लाख ६८ हजार १ सय ७७ रुपैयाँ ४२ पैसामा ठेक्का पाएको थियो । सो आयोजना २०७६ असोजमा सुरु भई २ वर्ष भित्रमा सक्ने सम्झौता रहेको थियो ।
५० फिट चौडाइ रहेको उक्त सडक खण्डमा दैनिक सयौं भारी ट्रिपरहरु चल्ने भएका कारण यो समस्या आएको हुनसक्ने अनुभवीहरु अड्कल काट्छन् । अलकत्र गरिएको २÷४ घण्टा बित्न नपाउँदै सुरक्षाका लागि लगाइएका ढाटहरु खोलेर ट्रिपरवालाले ट्रिपर चलाएका कारण यो अवस्था आएको हुनसक्ने स्थानीयको भनाई छ । सडक पास भई नसकेकोले पुनः सडक निर्माण गराएर मात्र स्वीकृत गराईने सडकका सव–ईञ्जिनियर सुदिप ढकालको आश्वासन रहेको स्थानीयले बताएका छन् ।
हालको अवस्थालाई ड्रेनसहित पूर्ण रुपमा सुधार गराएर मात्र पास हुने भएकाले स्थानीयवासीलाई ढुक्क रहन सडक डिभिजनका प्रमुख पशुपति ज्ञवालीले आश्वासन दिएको स्थानीयहरुले बताएका छन् ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय