उर्लाबारी, १५ वैशाख
मोरङको उर्लाबारीमा नेपाली काँग्रेसले घरदैलो कार्यक्रम सुरु गरेको छ । आज निर्वाचन परिचालन समितिको कार्यालय स्थापना गर्नुका साथै घरदैलो कार्यक्रम सुरु गरेको हो । उर्लाबारी–५ चौकमा निर्वाचन परिचालन समितिको कार्यालय उद्घाटन गरेसँगै आज सोही वडाको विभिन्न स्थानमा चुनावी कार्यक्रम सम्पन्न गरेको नगर सभापति सुरेन्द्र लिम्बूले जानकारी दिए ।
उर्लाबारी नगर प्रमुख पदमा उम्मेद्वार तथा काँग्रेस प्रदेश १ का सहमहामन्त्री खड्ग फागो, जिल्ला सभापति डिगबहादुर लिम्बू, उपप्रमुख पदकी उम्मेद्वार सीता कार्की, वडाध्यक्ष, वडा सदस्य पदका उम्मेद्वारसहितको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमका बक्ताहरुले उर्लाबारीको विकास र समृद्धिका लागि नेपाली काँग्रेसका उम्मेद्वारहरुलाई जिताउन आवश्यक रहेको बताएका थिए ।
आजै वडा नं. ५ का विभिन्न टोलमा कार्यक्रम गरी नगर प्रमुख पदका उम्मेद्वार खड्ग फागो, उपप्रमुख पदकी उम्मेद्वार सीता कार्की, वडाध्यक्ष पदका उम्मेद्वार तुलबहादुर थापा (रोहित) लगायत उम्मेद्वारहरुले आफ्ना चुनावी एजेण्टा प्रस्तुत गरेका थिए । उनीहरुले समृद्ध उर्लाबारी बनाउन काँग्रेसलाई एक पटक बहुमतले विजय गराउन आग्रह गरेका थिए । मतदाताको घरघरमा गएर वडाको विकास गर्ने स्पष्ट भिजनसहित आफ्ना प्रतिबद्धता प्रस्तुत गर्ने वडाध्यक्ष पदका उम्मेद्वार तुलबहादुर थापाले बताए ।



