About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

उर्लाबारी, १५ वैशाख
मोरङ मोडल स्कुल उर्लाबारीको कक्षा ९ की छात्रा आस्था चौधरी निर्वाचनमा मतदान गर्न उत्साहित छन् । अहिले गाउँघर सबैतिर निर्वाचनको माहोल बढेको बेला उनलाई पनि निर्वाचनमा मतदान गर्ने इच्छा जागृत भएको हो । सोही विद्यालयको कक्षा ८ का एन्जल काफ्ले र कक्षा ७ का सुदर्शन बस्नेतलाई पनि कहिले निर्वाचन आउँछ र मतदान गरौं भन्ने हुटहुटी चलेको छ । साँझ बिहान घर, छरछिमेकमा त चुनावी चर्चा थियो नै दिउँसो स्कुलमा पनि केही समय निर्वाचनकै चर्चा हुन थालेको छ ।
हुन त उनीहरुले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा मतदान गर्न पाउँदैनन् । उनीहरुको मतदान गर्ने उमेर पुगेको छैन । १८ वर्ष उमेर पूरा भएकाले मात्र मतदान गर्न पाउँछन् । तर, वैशाख २६ गते विद्यालयमा हुने निर्वाचनमा भने उनीहरुलाई उमेरले छेक्दैन । विद्यार्थीको नेतृत्व चयनका लागि हुने निर्वाचनमा मतदान गर्न उनीहरु तम्तयार भएका छन् । विद्यालयले प्रजातान्त्रिक प्रक्रियालाई व्यवहारिक रुपमा सिकाइ निर्वाचनप्रति सकारात्मक धारणा विकास गर्न स्कुल क्याप्टेन, सहायक क्याप्टेन, भाषा क्याप्टेन, अनुशासन क्याप्टेन, कक्षागत क्याप्टेन र भाइस क्याप्टेन चयन गर्न निर्वाचन गर्ने भएको प्रबन्ध निर्देशक यादप भण्डारीले बताए ।
‘स्थानीय निर्वाचन नजिकिँदै छ, यसको प्रक्रियाका बारेमा विद्यार्थीले बुझ्नु जरुरी छ’ उनले भने, ‘निर्वाचनलाई प्रयोगात्मक तवरले सिकाउन खोजेका हौं, विद्यार्थी उत्साहित छन् ।’ मोरङ मोडलले उक्त निर्वाचनमा निर्वाचनका सबै विधि प्रयोग गर्ने जनाएको छ । मतदाता नामावली प्रकाशन, मतदाता नामावलीमाथि दाबी विरोध, अन्तिम मतदाता नामावली प्रकाशन, उम्मेद्वारको मनोनयन, दाबी विरोध, उम्मेद्वारी फिर्ता, अन्तिम नामावली प्रकाशन, प्रचारप्रसार, मौन अवधि सबै तोकेर व्यवस्थित रुपमा क्याप्टेन चयन गर्ने तयारी गरिएको निर्देशक भण्डारीले बताए । यसबाट विद्यार्थीहरुमा चुनाव, नेतृत्व चयन गर्ने विषयका साथै निर्वाचनका प्रक्रियाका बारेमा व्यवहारिक ज्ञान हासिल हुने प्रिन्सिपल सन्दीप पौडेलले बताए ।

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय