About us    Advertise    Nepali Unicode    Preeti to Unicode               

तेजन खड्का, उर्लाबारी
कोरोना संक्रमणको खतरा बृद्धबृद्धा र बिरामीलाई बढी हुने मानिदै आएको छ । विश्वमा कोरोनाकै कारण पाका उमेरका धेरैको मृत्यु भएको छ । तर, मोरङको उर्लाबारीकी ७५ वर्षीया वृद्धाले कोरोना भाइरसलाई पराजित गर्न सफल भएकी छन् ।
सोमबार मध्याह्न नुनादेवी थापा ७५ हर्षित मुद्रामा देखिइन् । कोरोना संक्रमित भएपछि दुर्गापुरीस्थित राजघाट स्वास्थ्य चौकीको आइसोलेसनमा उपचार गरेर थापाले कोरोना संक्रमणलाई जितिन् र सोमबार डिस्चार्ज हुँदा उनको मुहारमा चमक थियो । उर्लाबारी–८ मा बस्दै आएकी उनी संक्रमण देखिएर आइसोलेसनमा लैजाँदा निकै निरास थिइन्, तर कोरोनालाई हराएर मुस्कुराउँदै घर फर्किएकी छन् ।
उनलाई कोरोनाले कहिले छोड्छ भन्ने चिन्ता थियो । असार १४ गते कोरोना पोजेटिभ आएपछि उनी उर्लाबारी–९ स्थित राजघाट स्वास्थ्य चौकीको कोभिड उपचार कक्षमा आइसोलेट भएकी थिइन् । ‘कोरोना संक्रमण भएपछि एकदिन त सास फेर्न पनि निकै गाह्रो बनाएको थियो’, उनले भनिन्, ‘अरु दिन त आराम गरेर बसियो । स्वास्थ्यकर्मीहरुको राम्रो हेरचाह पाएँ ।’ कोरोना संक्रमण हुँदा नडराएको उनले बताइन् । ‘मलाई त डरै लागेन’, थापाले भनिन्, ‘डरायो भने कहाँ बाँचिन्छ र ?’ कोरोनाभन्दा ठूलो रोग त्रास भएको बताउँदै उनले उच्च मनोबल बनाए सहजै निको भइने अनुभव हासिल गरेको बताइन् ।
सोमबार रिपोर्ट नेगेटिभ आएपनि उनलाई आज राजघाट स्वास्थ्य चौकीमा बिदाई गरियो । सो अवसरमा नुनादेवीका छोरा हडेन्द्र थापाले ज्यानको बाजी राखेर आमाको उपचारमा अहोरात्र खट्ने स्वास्थ्यकर्मीको टिमलाई धन्यवाद प्रकट गरे । उनले भने, ‘डा. राजकुमार चौधरीको टिमलाई धन्यवाद दिन चाहन्छु । उहाँको टिमको निगरानी र अथक प्रयासले मेरी आमा पूर्ण रुपमा कोरोना परास्त गर्न सफल हुनुभएको छ ।’
‘जब आमालाई कोरोना भाइरस देखियो हामी घरमै क्वारेन्टाइनमा थियौं’, हडेन्द्रले भने, ‘आमा अस्पतालमा हुनुहुन्थ्यो, आमासँग हाम्रो भेट भएको थिएन, आत्तिएका थियौं ।’ यो सबै आमाको बलियो इच्छाशक्तिका कारण सम्भव भएको परिवारका सदस्य र चिकित्सकको भनाइ छ ।
‘आमाले अस्पतालमा कोरोनालाई जितेको खबर हामीले पायौं, हामी उहाँको उमेरदेखि डराएका थियौं’, छोरा हडेन्द्रले भने, ‘अस्पतालमा उहाँको मनोबल एकदमै उच्च थियो । जसले गर्दा १४ दिनको अस्पताल बसाइपछि आमा कोरोनामुक्त हुनुभयो ।’


आफ्ना हट्टाकट्टा साथीभाइ कोरोनाको कारण निधन भएको सुने देखेका हडेन्द्रमा आमालाई कसरी निको पार्ने भन्ने चिन्ता थियो । आमालाई फर्काउन सकिने हो कि होइन भन्ने दुविधाका साथ आमाले कोरोना जित्नुभएकोमा निकै खुसी लागेको उनले प्रतिक्रिया दिए । ‘हुन त ज्यानको अगाडि पैसा ठूलो कुरा होइन, ठूला हस्पिटल लगेको भए, १५÷२० लाख सकिने रहेछ । तर यहाँ सबै निःशुल्क उपचार भयो’ उनले भने ।
हडेन्द्रले उर्लाबारी नगरपालिकाद्वारा सञ्चालित राजघाटको कोभिड उपचार केन्द्रप्रति निकै भरोसा देखाए । लाखौंको निःशुल्क उपचार, खाना बस्नको प्रवन्धले कोरानाका बिरामीलाई निक्कै सजहता भएको स्थानीय राजन रायमाझीले बताए । उनले भने, ‘ठूला हस्पिटलमा पैसा पनि सकिएको, मान्छे पनि सकिएको खबरहरु आइरहेका छन् । राजघाटको कोभिड उपचार केन्द्र अन्यत्रभन्दा कम छैन ।’

 

50% LikesVS
50% Dislikes

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय