
उर्लाबारी, १३ वैशाख
वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उर्लाबारीका चार जना पत्रकारले उम्मेद्वारी दिएका छन् । पत्रकार घनश्याम भण्डारीले नेकपा एमालेबाट उर्लाबारी–६ मा वडाध्यक्षको उम्मेद्वार बनेको छन् । लामो समय अघिदेखि पत्रकारितामा सक्रिय भण्डारी एमाले नेतृ शिवमाया तुम्बाहाङ्फे संघीय सरकारको मन्त्री हुँदा स्वकीय सचिव रहेका थिए । नेकपा एमालेको विभिन्न पार्टी कमिटीमा रहेर उनले काम गरेका छन् । अहिले वडाको मुहार फेर्ने अभियानमा वडाध्यक्षको उम्मेद्वारका रुपमा उनी वडावासीमाझ पुगेका छन् ।
सोही वडामा नेकपा एमालेबाटै पत्रकार तथा युट्युवर किशोर श्रेष्ठ वडा सदस्य पदको उम्मेद्वार बनेका छन् । भण्डारीसँगै साझा एजेण्डा लिएर उनी भोट माग्न व्यस्त रहेका छन् । उता युवा पत्रकार सरोज बस्नेत उर्लाबारी ७ मा नेकपा माओवादी केन्द्रबाट वडा सदस्य पदको उम्मेद्वार बनेका छन् । युवा जोश जाँगरका साथ वडाको विकास र समृद्धिमा आफ्नो ध्यान रहने बताउँदै उनले वडावासीको ध्यान खिचेका छन् ।
उर्लाबारी ९ मा पत्रकार तेजन खड्का वडा सदस्य पदको उम्मेद्वार बनेका छन् । स्वतन्त्र उम्मेद्वारी दिएका खड्का पत्रकारितासँगै वडाको विकासमा लाग्ने हुटहुटी जागेको बताउँछन् । उम्मेद्वारी दिएका भण्डारी र बस्नेत सञ्चार क्लब नेपालका पूर्व अध्यक्ष हुन् भने श्रेष्ठ पूर्व महासचिव र खड्का पूर्व सचिव हुन् । सञ्चार क्लब नेपालका अध्यक्ष नवराज भट्टराईले चारै जना उम्मेद्वारलाई जितको शुभकामना व्यक्त गरेका छन् ।



