
उर्लाबारी, ११ वैशाख
उर्लाबारीको राजनीतिक, सामाजिक र धार्मिक क्षेत्रमा परिचित नाम हो, गंगाप्रसाद खरेल । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट उर्लाबारी नगरपालिकाको नगर प्रमुखको उम्मेद्वार बनेका खरेललाई उर्लाबारीको माटोले राम्ररी चिनेको छ । उर्लाबारीको राजनीति, सामाजिक र धार्मिक क्षेत्रमा उनले गरेको योगदान अविस्मरणीय छ ।
वि.सं. २०१६ साल जेठ १४ गते झापाको शनिश्चरेमा जन्मिएका खरेल २०२५ सालदेखि उर्लाबारीमा बसोबास गर्दै आएका छन् । बुबा श्रीप्रसाद खरेल र आमा नरमाया खरेलका छ छोरा र दुई छोरीमध्येका सबैभन्दा जेठो सन्तान हुन् गंगा । शनिश्चरेबाट उर्लाबारी–८ (तत्कालीन राजघाट) गँगटे हुँदै अहिले उर्लाबारी–७ मा उनको बसोबास रहेको छ ।
राधिका मावि उर्लाबारी–६ बाट एसएलसी उत्तीर्ण गरेका खरेलले काठमाडौंबाट आइ.ए. को अध्ययन पूरा गरेका हुन् । २०३२ सालदेखि नै विद्यार्थी राजनीतिमा होमिएका उनले पार्टीको वडा कमिटी, गाउँ कमिटी, क्षेत्रीय कमिटी सदस्य, उर्लाबारी इञ्चार्जको भूमिका निर्वाह गरिसकेका छन् । कुनै पनि पदमा लोभ नगर्ने, परिआएमा पछि नहट्ने उनी हाल नेकपा एमाले जिल्ला कमिटी सल्लाहकार सदस्य छन् ।
देशको राजनीतिक परिवर्तनका लागि विभिन्न समयमा भएका आन्दोलनमा गंगाप्रसाद खरेल दिलो ज्यान दिएर लागे । २०३७ सालमा पञ्चायती व्यवस्थाको विरोधमा भएको कृषक आन्दोलनको क्रममा उनलाई प्रहरीले पक्राउ गरी २८ दिनसम्म हिरासतमा राखेको थियो । त्यो बेला हिरासतमा भोगेको चरम यातना अहिलेसम्म उनको स्मरणमा ताजै छ । पछि २०४६, २०६२÷०६३ को आन्दोलनमा पनि उनको सक्रियतामा कुनै कमी आएन । झन् अग्रमोर्चामा रहेर परिवर्तनको पक्षमा आवाज बुलन्द पारे ।
राजनीतिसँगै खरेल सामाजिक क्षेत्रमा अग्रणी छन् । मनकारी खरेलका सहयोगी हात सबैतिर फैलिएका छन् । उर्लाबारी–६ स्थित महारुद्ध शिवालय मन्दिरको गेट निर्माण गरिदिएका उनले उर्लाबारी–७ स्थित नमूना बाल गृहमा एउटा कोठा निर्माण गरिदिएका छन् । यस्तै, उर्लाबारी–६ को राधिका माविमा ७ लाख रुपैयाँ बढीको लगानीमा भवन निर्माण, देवीस्थान दुर्गा मन्दिर मातहतको सोनिका सामुदायिक भवनमा १ कोठा उनकै लगानीमा निर्माण गरिएको छ । खरेलसहितका व्यवसायीहरुको २५ लाख रुपैयाँ लगानीमा उर्लाबारी–८ कल्याण चौक पश्चिम राते होलीमा पुल निर्माण भएको छ । गंगा खरेल, मानबहादुर श्रेष्ठ, प्रेमचन्द बाहेती, चेतराज श्रेष्ठ र कुमार श्रेष्ठले संयुक्त रुपमा प्रदान गरेको दुई कठ्ठा जग्गामा उर्लाबारी–७ मा परोपकार सेवा केन्द्रको दुई तले भवन निर्माण भएको छ । केन्द्रको भवन निर्माणमा खरेलले लाखौं रुपैयाँ खर्चेका छन् । उनी सो केन्द्रको अध्यक्ष समेत हुन् । उनले विभिन्न मठमन्दिर, संघसंस्था, शैक्षिक संस्थालाई गरेको सहयोगको फेहरिस्त लामै छ ।
खरेलले जति संघसंस्थाको नेतृत्व लिए, संस्थालाई अग्रगतिमा लैजाने काम गरे । हाम्रो बचत तथा ऋण सहकारी संस्थाको अध्यक्ष, सोनिका सामुदायिक भवनको महासचिव, स्वतन्त्र निर्माण व्यवसायी मजदुर संघ उर्लाबारीको संस्थापक अध्यक्ष, ट्याक्टर व्यवसायी संघ उर्लाबारीको संस्थापक अध्यक्ष, बक्राहा घाट निर्माण समितिको संयोजकको जिम्मेवारी सफलतापूर्वक निर्वाह गरिसकेका उनी स्थापनाकालदेखि हालसम्म उर्लाबारी परोपकार केन्द्रको अध्यक्ष छन् । जुनसुकै संघसंस्थाको नेतृत्वमा रहँदा उनको कार्यकुशलता, मितव्ययिताबाट जो कोही प्रभावित हुने गरेका छन् ।
मेयरको उम्मेद्वार खरेल २०४७ सालदेखि ब्रम्हकुमारी इश्वरीय विश्वविद्यालय अन्तर्गत रही धार्मिक, सामाजिक अभियानमा निरन्तर सक्रिय रहँदै आएका छन् । सामाजिक विकृतिलाई जरैबाट उखेलेर समुन्नत समाज निर्माण गर्ने उनको लक्ष्य रहेको छ । नेकपा एमालेबाट उर्लाबारी नगरपालिकाको मेयरको उम्मेद्वार रहँदै गर्दा उनले उर्लाबारी नगरको विकासका लागि आफ्ना प्रतिबद्धता चाँडै सार्वजनिक गर्ने बताएका छन् ।



